मङ्लबार, भदौ २८, २०८३
Breaking News

गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली ‘कमब्याक’, विज्ञान तथा नवप्रवर्तनमा महावीर पुन

समाचार कक्ष बुधबार, जेष्ठ २५, २०८३

काठमाडौँ, जेठ २७ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मन्त्रिपरिषद्‌मा दुई महत्वपूर्ण नियुक्ति भएका छन् । विगतको विवादबाट ‘क्लिन चिट’ पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन् भने मन्त्रालयको नयाँ पुनर्संरचनापछि गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ को जिम्मेवारी स्वतन्त्र सांसद एवं वैज्ञानिक महावीर पुनले सम्हालेका छन्।

नवनियुक्त दुवै मन्त्रीहरूले मंगलबार अपराह्न ३ बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

छानबिनको ‘क्लिन चिट’ पछि सुधन गुरुङको दोस्रो इनिङ

सम्पत्ति विवरण र व्यवसायी दीपक भट्टसँगको कथित व्यावसायिक साझेदारीको विषयलाई लिएर विवादमा परेपछि गुरुङले गत वैशाख ९ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको २६ औँ दिनमा राजीनामा दिएका थिए।

त्यसपछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा महालेखा परीक्षक शोभकान्त पौडेल र सह-न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिले बुझाएको ४५ पाना लामो प्रतिवेदनले गुरुङको सबै चल-अचल सम्पत्ति वैध रहेको र उनीमाथि लगाइएका आरोपहरू पुष्टि हुन नसकेको भन्दै ‘क्लिन चिट’ दिएको हो ।

सफाइ पाएलगत्तै प्रधानमन्त्री शाहले गृह मन्त्रालयको कमान्ड पुनः गुरुङलाई नै सुम्पिएका हुन्। गुरुङको पुनरागमनलाई राजनीतिक वृत्तमा उनको नैतिक शक्तिको विजयका रूपमा हेरिएको छ भने आलोचकहरूले छानबिन प्रतिवेदन सार्वजनिक नगरिएकोमा प्रश्न उठाएका छन्।

नवगठित मन्त्रालयमा महावीर पुन: इतिहासमै दुर्लभ निर्णय

सरकारले हालै प्रशासनिक संरचनामा व्यापक सुधार गर्दै मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १७ मा झारेको छ। ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ बमोजिम नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय को नेतृत्व म्याग्दी–१ बाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले पाएका छन्।

नेपालको दलीय राजनीतिक इतिहासमा स्वतन्त्र सांसदलाई मन्त्री बनाइने घटना निकै दुर्लभ मानिन्छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागसेसे पुरस्कार विजेता ७१ वर्षीय पुनको यो दोस्रो मन्त्रीमण्डल यात्रा हो । यसअघि उनी सुशीला कार्कीको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनिसकेका छन् ।

लामो समयदेखि देशमा अनुसन्धान र प्रविधिको विकासका लागि बजेट र मन्त्रालयको माग गर्दै आन्दोलनसमेत गरेका पुन आफैँले सोही मन्त्रालयको बागडोर सम्हाल्न पाउनुलाई प्रविधि क्षेत्रका विज्ञहरूले सकारात्मक रूपमा लिएका छन् ।

सम्बन्धित खबर