काठमाडौं | राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र घोषणाको माग गर्दै सुरु भएको राजावादी आन्दोलन अनिश्चितकालीन हुने भएको छ। आन्दोलनका अगुवा नेताहरूले माग पूरा नभएसम्म संघर्ष जारी राख्ने अडान दोहोर्याएका छन्।
राजावादी समूहले जेठ १६ गतेदेखि काठमाडौंको शान्तिबाटिका, माइतीघर र रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्। उनीहरूले “राजा आऊ, देश बचाऊ”, “गणतन्त्र मुर्दावाद”, “हिन्दू राष्ट्र कायम गर” जस्ता नारासहित प्रदर्शनलाई तीव्र बनाएका छन्। प्रदर्शनमा छाता, राष्ट्रिय झण्डा र पूर्वराजाहरूका तस्वीरहरू प्रयोग गरिएको छ ।
आन्दोलनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही र जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले गरिरहेका छन्। उनीहरूले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन नारायणहिटी दरबार क्षेत्र लगायतका स्थानहरूमा निषेधाज्ञा जारी गरेको छ। तर, प्रदर्शनकारीहरूले बालुवाटारसम्म पुगेर सरकारलाई खुला चुनौती दिएका छन् । प्रदर्शनलाई शान्तिपूर्ण राख्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।
राजावादी आन्दोलनले गणतन्त्रको जग हल्लाउने प्रयास गरिरहेको भन्दै पूर्वराष्ट्रपति रामवरण यादवले आलोचना गरेका छन्। उनले गणतन्त्र जनताको त्याग र बलिदानबाट प्राप्त भएको भन्दै त्यसलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
राजावादी आन्दोलन हाल काठमाडौं केन्द्रित रहेको छ। उनीहरूले आगामी दिनमा आन्दोलनलाई देशभर विस्तार गर्ने योजना बनाएका छन्।





