काठमाडौँ | पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगद्वारा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ। नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध यस्तो मुद्दा दर्ता गर्ने निर्णय भएको हो।
२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न दिने निर्णय गरेको थियो। केही समयपछि ती जग्गाहरू बिक्री गरिएको पाइएपछि अख्तियारले छानबिन सुरु गरेको थियो। हदबन्दी छुटमा प्राप्त जग्गा बिक्री गर्न कानुनले निषेध गरेकाले, मन्त्रिपरिषद्को उक्त निर्णयमा प्रश्न उठेको थियो।
अख्तियारले केही साताअघि पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको थियो। त्यसै दिन आयोगको बैठक बसेर नेपाल, पतञ्जलि नेपाल कार्यालयका पदाधिकारीहरू लगायतविरुद्ध मुद्दा चलाउने निर्णय भएको अख्तियारको श्रोतलाई उल्लेख गर्दै सन्चार माध्यमहरुले जनाएका छन् । तर, सूचना लिक भएपछि सत्तारूढ र विपक्षी दलका नेताहरूको तीव्र राजनीतिक दबाबमा आयोग नेपाल विरुद्ध मुद्दा दर्ता गर्न पछाडि हटेको भनिएको थियो । अख्तियारभित्रकै पदाधिकारीहरूबीच मतभेद देखिँदा, निर्णय अभिलेखबाट हटाउन सकिने भन्दै यो विषय निष्क्रिय रहेकोमा आज मन्त्रिपरिषदको निर्णय विरुद्ध नै अख्तियारले मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको हो ।
सांसद पद पनि निलम्बनमा
यसैबीच, विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर भए लगत्तै पूर्व प्रधानमन्त्री एवं हाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका माधवकुमार नेपालको सांसद पद नै स्वत: निलम्बनमा परेको छ ।





