काठमाडौं | अमेरिकाले निष्कासन गरेको ३७ जना नेपाली नागरिक आइतबार साँझ चार्टर उडानमार्फत काठमाडौँ आइपुगेका छन्। ओम्नी एयर इन्टरनेसनलको विशेष चार्टर उडानमार्फत आएका उनीहरू ढाका हुँदै आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। आएका नेपालीमध्ये ३२ जना पुरुष र ५ जना महिला रहेका छन्। अमेरिकी अध्यागमन अधिकारीहरूले अवैध रूपमा प्रवेश गरेका, शरण खोज प्रक्रिया अस्वीकृत भएका वा आप्रवासन कानुन उल्लंघन गरेका आधारमा उनीहरूलाई निष्कासन गरेका हुन्।
सूत्रका अनुसार तीमध्ये धेरै नेपाली नागरिकहरू दक्षिण अमेरिका, मध्य अमेरिका हुँदै कठिन र जोखिमपूर्ण यात्रा पार गरेर अमेरिका पुगेका थिए। केहीले शरणको आवेदन दिएका थिए भने केही अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।
त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै सम्बन्धित निकायले उनीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको थियो। साथसाथै आप्रवासन विभाग, प्रहरी र सुरक्षा अधिकारीहरूले पनि आधारभूत विवरण संकलन गरेका छन्। नेपाल प्रहरीले मानव तस्करीको आशंकामा केहीलाई अनुसन्धानमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार यदि मानव तस्करीको संलग्नता देखिएमा कानुनी कारबाही अघि बढाइनेछ।
अमेरिकाले पछिल्लो समय आप्रवासन नीतिमा कडाइ गर्दै गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई देशनिकाला गर्ने प्रक्रिया तीव्र पारेको छ। पछिल्लो तथ्यांक अनुसार, २०२५ मा मात्रै करिब १४० जना नेपालीलाई अमेरिका सरकारले निष्कासन गरिसकेको छ।
नेपाल सरकारले निष्कासित नागरिकहरूलाई नागरिक अधिकारका आधारमा हेरिने र आवश्यक सहयोग प्रदान गरिने जनाएको छ। विदेश मन्त्रालयले मानव बेचबिखन वा गैरकानुनी आप्रवासनबारे सचेत रहन आग्रहसमेत गरेको छ।





