अमेरिका | भर्जिनियास्थित मनासस पार्कमा बसोबास गर्दै आएका चार सदस्यीय नेपाली परिवारको गोली हानी मारिएको गरिएको घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ। मनासस पार्कस्थित लाने लेनको अपार्टमेन्टमा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।
प्रहरी अनुसन्धान अनुसार यो घटना हत्या–आत्महत्या (मर्डर–सुइसाइड) हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
घटना बारे पछिल्लो अपडेट
मृतक परिवार बेलमोन्ट स्टेसन नामक छिमेकको एक टाउनहोमको बेसमेन्ट अपार्टमेन्टमा बसोबास गर्दै आएको थियो। परियार र श्रेष्ठ नेपालमा विवाह गरेर करिब सात वर्षअघि अमेरिका आएका थिए। परिवारको नजिककी साथी दिपनीति मानन्धरले स्थानिय अनलाइन प्रिन्स विलियम टाइम्सलाई उपलब्ध गराएको जानकारी अनुसार उक्त दम्पतीले मनासस पार्क नेपाली समुदाय नजिकै बस्नको लागि रोजेका थिए।
भर्जिनियाको प्रिन्स विलियम काउन्टी क्षेत्रमा करिब १,४०० जना नेपाली बसोबास गर्ने गरेको वेल्डन कुपर सेन्टर फर पब्लिक सर्भिस (यूनिभर्सिटी अफ भर्जिनिया) को तथ्यांकमा उल्लेख गरिएको छ।
मानन्धरका अनुसार परियार र श्रेष्ठको अन्तरजातीय विवाह प्रेम विवाह भएको थियो , तर उनीहरूको सम्बन्ध केही समयदेखि तनावपूर्ण थियो र आर्थिक समस्या पनि थियो। अञ्जु श्रेष्ठले नेपालमा एकाउन्टिङमा स्नातक गरेकी थिइन् र अमेरिका आएपछि केही समय स्टोरमा काम गरेकी थिइन्। तर सन्तानको हेरचाह गर्न गाह्रो भएपछि उनले जागिर छाडिन्। सन्तोष परियारले नेपालमा अमेरिकी दूतावासमा काम गर्थे। अमेरिका आएपछि उनले उबर ड्राइभरको रूपमा लामो दूरीका यात्रा गर्ने काम थालेका थिए। केही महिना अघि उनले कामका लागि सानो भ्यान समेत खरिद गरेका थिए। अञ्जु श्रेष्ठले आफ्नी दिदीलाई अमेरिकामा एक्लोपन महसुस भएको बताउने गर्थिन् र धेरै साथी नभएको गुनासो गर्थिन्। यद्यपि समय फरक भए पनि उनीहरूले हरेक दिन कुरा गर्ने गर्थे।
“नेपालमा हुँदा उनी धेरै हाँसोमजाक गर्ने, रमाइलो गर्ने स्वभावकी थिइन्। तर अमेरिका पुगेपछि उनको स्वभाव नै बदलियो । उनी नेपाल फर्किने निर्णयमा पुगेकी थिइन्। तर सन्तोषले उनलाई आफु परिवारको लागि सबै व्यवस्थापन गर्न सक्षम रहेको र परिवार सँग अलग्गिएर नबस्ने भने पछि अन्जुले अमेरिका छोड्ने त्यो योजना त्यागिन् ।” उनकी दिदी मंजु श्रेष्ठको भनाइ लाई उदृत गर्दै अनलाइनले आफ्नो संस्करणमा लेखेको छ ।
दिदि मन्जु श्रेष्ठको अनुसार सन्तोष परियारले केही वर्षअघि सुरक्षाको लागि बन्दुक किनेका थिए। घटनामा सोही बन्दुक प्रयोग भएको हो कि होइन भन्ने यथार्थ जानकारी प्रहरीले बाहिर ल्याएको छैन। कसले गोली चलायो र कुन प्रकारको हतियार प्रयोग भयो भन्ने अहिले सम्म स्पष्ट भइसकेको छैन। सोमबार पनि प्रहरी अनुसन्धान जारी रहेको प्रहरी प्रमुख लुगोले सन्चार माध्यमहरुलाई जानकारी दिएका छन्।
घटना बारे प्रारम्भिक जानकारी
२०२५ जुन ५ तारिख बिहीबार राति १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन प्रहरीलाई अनुरोध गरेका थिए। प्रहरी जब घटनास्थलमा पुगे, त्यहाँ दुई जना वयस्क र दुई जना बालबालिका मृत अवस्थामा भेटिएका थिए। सबैको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलबाट एक थान बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले हालसम्म कसले गोली चलायो भन्ने विवरण सार्वजनिक गरेको छैन। अनुसन्धान जारी रहेकाले प्रहरीले सार्वजनिक धैर्यताको अपिल गरेको छ।
मृतकहरूमा सन्तोष परियार (३८), उनकी पत्नी अञ्जु श्रेष्ठ (३६), ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्।
परिवारका साथी कुशोम लेफ्टविचले गोफण्ड मि मार्फत आर्थिक सहयोग अभियान सुरु गरेका छन्।
उक्त परिवार हालै मात्र भर्जिनियामा सरेका थिए । छिमेकीहरुका अनुसार मृतक दुवै बालबालिकाहरु प्राय घर बाहिर खेलिरहेका देखिन्थे । उनीहरुले शान्त, दयालु र माया गर्ने स्वभावका परिवारमा घटेको यस घटना रहस्यमय मानेका छन् |
यो हृदयविदारक घटनाले स्थानीय नेपाली समुदायमा ठूलो शोक र स्तब्धता ल्याएको छ। समुदाय अहिले परिवारका अन्तिम संस्कार परम्परागत ढंगले सम्पन्न गर्न प्रयासरत छ।
अञ्जु श्रेष्ठका दाजु हाल नेपालमै रहेका छन् र अमेरिकामा आएर धार्मिक र परम्परागत अन्त्येष्टि गर्न प्रयत्नरत छन्। उनीहरूको सांस्कृतिक र धार्मिक परम्परालाई सम्मानपूर्वक सम्पन्न गर्न आर्थिक सहयोगको आवश्यकता रहेको परिवारका नजिकका आफन्तजनले जनाएका छन् ।





