मङ्लबार, भदौ २८, २०८३
Breaking News

लस एन्जलसमा कर्फ्यू लागू, दर्जनौं प्रदर्शनकारी पक्राउ, टेक्सासमा नेशनल गार्ड खटाइयो

समाचार कक्ष बुधबार, जेष्ठ २७, २०८२

अमेरिका।अमेरिकाको लस एन्जलस शहरमा जारी विरोध प्रदर्शनले उग्र रुप लिन थालेपछि प्रशासनले डाउनटाउन क्षेत्रका केही भागमा कर्फ्यू लागू गरेको छ। यसैबीच प्रहरीले मंगलबार साँझ दर्जनौं प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ। देशभर विभिन्न सहरहरूमा यस्ता विरोध प्रदर्शनहरू फैलिरहेका छन् भने टेक्सास राज्यले सुरक्षा सतर्कता स्वरूप नेशनल गार्ड तैनाथ गरेको छ।

सीमित क्षेत्रका लागि कर्फ्यू

लस एन्जलस नगरपालिकाले डाउनटाउनको करिब १ वर्ग माइल क्षेत्रफलमा कर्फ्यू घोषणा गरेको हो। यो कर्फ्यू हरेक दिन साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। लस एन्जलसकी मेयर करेन बासका अनुसार कर्फ्यू केही दिनसम्म लागू हुन सक्छ। प्रशासनका अनुसार करिब एक लाख मानिसलाई मात्र यसको प्रत्यक्ष असर पर्नेछ।

प्रहरीले समूहगत गिरफ्तारी सुरु

लस एन्जलस प्रहरीले गैरकानुनी भेला जारी राखेकाहरूलाई बाटो खाली गर्न पटकपटक आग्रह गरेपछि समूहगत गिरफ्तारी सुरु गरेको जनाएको छ। पछिल्ला चार दिनमा मात्रै ३७८ जना प्रदर्शनकारी पक्राउ परिसकेको प्रहरी विभागले जनाएको छ।

टेक्सासमा नेशनल गार्ड तैनाथ

टेक्सास राज्यमा समेत यस्ता प्रदर्शन चर्किन थालेपछि गभर्नर ग्रेग एबटले विभिन्न स्थानमा नेशनल गार्ड तैनाथ गर्ने घोषणा गरेका छन्। सान एन्टोनियोमा शनिबार आयोजना हुन लागेको “नो किंग्स” प्रदर्शनलाई मध्यनजर गर्दै यो निर्णय गरिएको बताइएको छ।

अन्य सहरहरूमा पनि चर्किँदै प्रदर्शन

इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (ICE) र ट्रम्प प्रशासनविरुद्ध विरोधका स्वर अमेरिका भरि फैलिरहेका छन्। न्यूयोर्क, शिकागो, सियाटल, डेनभर, सान फ्रान्सिस्को, एटलान्टा लगायत प्रमुख सहरहरूमा प्रदर्शन चर्किरहेको छ। आप्रवासन नियन्त्रण र गिरफ्तारिको लक्ष्य पूरा गर्न ICE सक्रिय भइरहँदा विरोध तीव्र बनेको हो।

ट्रम्प र न्यूसमबीच आरोप-प्रत्यारोप

राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यालिफोर्नियाका गभर्नर ग्याविन न्यूसमबीच वाकयुद्ध चलेको छ। गभर्नर न्यूसमले ट्रम्पले अन्धाधुन्ध डिपोर्टेशन गराइरहेको, सार्वजनिक सुरक्षामा जोखिम थपिरहेको र प्रजातन्त्र नै खतरामा परेको आरोप लगाए। ट्रम्पले सोमबार न्यूसमलाई फोन गरेको दाबी गरे पनि गभर्नरले भने यो अस्वीकार गरेका छन्।

ICE का छापाबाट सुरु भएको आन्दोलन

विरोध प्रदर्शन गत शुक्रबार ICE ले कार्यस्थलहरूमै छापा मारेर दर्जनौं आप्रवासीलाई गिरफ्तार गरेपछि सुरु भएको हो। सोमबार मेयर करेन बासले पछिल्लो दिन थप कुनै छापाको सूचना नआएको जनाइन्। तर स्थानीय प्रहरी र अधिकारीहरूलाई आगामी छापाबारे पूर्व जानकारी दिइँदैन। “हामीलाई थाहा छैन आगामी छापा कहिले र कहाँ हुनेछ,” मेयर बासले बताइन्।

सम्बन्धित खबर