काठमाडौं | हिल्टन काठमाडौं होटल बिक्रीसम्बन्धी हल्लालाई लिएर जगदम्बा हस्पिटालिटी ग्रुपले खण्डन गरेको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ग्रुपले सो विषयमा कुनै छलफल वा प्रक्रिया नै नचलेको स्पष्ट पारेको हो।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ “हामी सर्वसाधारणलाई जानकारी गराउन चाहन्छौं कि जगदम्बा होस्पिटालिटी ग्रुपद्वारा सञ्चालित हिल्टन काठमाडौंले कुनै पनि बिक्री प्रक्रिया अघि बढाएको छैन, न त यस विषयमा कुनै छलफल नै भएको छ,”
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले होटल खरिद गरेको दाबी गरिएको हल्ला सामाजिक सन्जालमा फैलिएपछि उक्त दाबीहरूलाई कडा शब्दमा खारेज गर्दै यस्ता भ्रामक सूचनाबाट व्यवसायिक र राजनीतिक छवि धुमिल हुने बताएको छ।
“राजनीतिक व्यक्तित्व र व्यवसायिक परिवारहरूको नामलाई गैरजिम्मेवार ढंगले जोडेर भ्रामक समाचार फैलाइएकामा हामी गम्भीर आपत्ति जनाउँछौं। यस्ता हल्लाले व्यवसाय र राजनीतिक विश्वसनीयतामा गम्भीर क्षति पुर्याउन सक्छन्,” कम्पनीले जनाएको छ।
राजधानीको केन्द्रमा अवस्थित पाँचतारे हिल्टन काठमाडौंले उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको पुनः पुष्टि गरेको छ।
विश्वको दोस्रो ठूलो होटल सञ्जाल हिल्टन होटल्स एन्ड रिसोर्ट्सअन्तर्गत पर्ने हिल्टन काठमाडौं शंकर समूहले करिब ८ अर्ब रुपैयाँ लगानीमा निर्माण गरेको हो। यस पाँचतारे होटलमा १७४ कोठाहरू रहेका छन् र यसको निर्माण पूरा हुन सात वर्ष लागेको थियो। हिल्टनले हाल १२६ देशमा २४ ब्राण्डअन्तर्गत सेवा विस्तार गरेको छ।





