तेहरान | इजरायलले हालै सञ्चालन गरेको सैन्य कारवाही ‘अपरेसन राइजिङ लायन’ मा इरानका शीर्षस्थ तीन प्रमुख सैनिक अधिकारीहरू मारिएका छन्। इरानको सैनिक नेतृत्वमै ठूलो धक्का पुर्याउने यस घटनाले क्षेत्रीय तनाव झनै बढाउने संकेत देखिएको छ। मारिनेहरूमा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर्प्स (IRGC) का प्रमुख, सशस्त्र बलका प्रमुख, र पूर्व राष्ट्रिय सुरक्षा प्रमुख रहेका छन्।
मेजर जनरल होसैन सालामी — IRGC प्रमुख
इरानको सबैभन्दा शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर्प्स (IRGC) का प्रमुख मेजर जनरल होसैन सालामी सन् २०१९ देखि नेतृत्वमा थिए। १९६० मा जन्मिएका सालामी इरानको सर्वोच्च नेता आयतोल्ला अली खामेनीका नजिकका विश्वासपात्र थिए।
IRGC इरान भित्र असन्तोष दबाउने र विदेशमा आफ्नो प्रभाव विस्तार गर्ने इरान सरकारको मुख्य अस्त्र मानिन्छ। संगठनले क्षेत्रीय मिलिसियाहरूलाई आर्थिक तथा सैनिक सहयोग गर्दै अमेरिकी र इजरायली हितहरू विरुद्ध आक्रमण गराउँदै आएको छ। विशेषगरी, यमनका हूथी विद्रोहीहरूलाई IRGC ले सहयोग गर्दै आएको आरोप अन्तर्राष्ट्रिय समुदायमा रहँदै आएको छ।
सालामीको नेतृत्वमा इरानले अप्रिल र अक्टोबर २०२४ मा पहिलो पटक प्रत्यक्ष रूपमा इजरायलमाथि सयौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो। केही महिना अघि सार्वजनिक गरिएको फुटेजमा उनलाई भूमिगत मिसाइल कारखानामा निरीक्षण गरिरहेको देखाइएको थियो, जहाँ “विशेष नयाँ मिसाइल” उत्पादन भइरहेको इरानी सञ्चारमाध्यमले जनाएका थिए।
सालामीकै कार्यकालमा सन् २०२० मा इरानले गल्तीले युक्रेनी यात्रुबाहक विमान खसालेको थियो, जसमा १७६ यात्रुको ज्यान गएको थियो। सो घटनामा संलग्न IRGC कमाण्डरलाई १३ वर्षको जेल सजाय सुनाइएको थियो।
सुरक्षा विश्लेषक बेथ स्यानरका अनुसार सालामीको मृत्यु अमेरिका वा अन्य देशको सैन्य प्रमुख मारिएको जत्तिकै ठूलो धक्का हो।
मेजर जनरल मोहम्मद बाघेरी — सशस्त्र बल प्रमुख
सन् २०१६ देखि इरानको सशस्त्र बल प्रमुखको रूपमा सेवा गर्दै आएका मेजर जनरल मोहम्मद बाघेरी पनि यस आक्रमणमा मारिए। इरानको सशस्त्र बलमा करिब ५ लाख सक्रिय सैनिक रहेको अनुमान गरिएको छ।
बाघेरीमाथि सन् २०१९ मा अमेरिकी प्रतिबन्ध लगाइएको थियो। उनलाई दशकौँदेखि इरानी जनतालाई दमन गर्ने, आतंक फैलाउने र अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता निम्त्याउने आरोप लगाइएको थियो।
सन् २०१७ मा सिरियामा इरानी सेनासँग भेटघाट गरेको तस्बिर सार्वजनिक भएका थिए। हालै अप्रिलमा उनले साउदी अरबका रक्षा मन्त्री प्रिन्स खालिद बिन सलमानसँग तेहरानमा भेट गरेका थिए। रोयटर्सका अनुसार सो भेटमा साउदी पक्षले उनलाई इजरायलसँग युद्ध रोक्न अमेरिकासँग आणविक वार्ता गर्न सुझाव दिएको थियो।
अली शमखानी — पूर्व राष्ट्रिय सुरक्षा प्रमुख
इजरायली आक्रमणमा मारिएका तेस्रो उच्च अधिकारी पूर्व राष्ट्रिय सुरक्षा प्रमुख अली शमखानी हुन्। सन् २०१३ देखि १० वर्षसम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवको रूपमा काम गरेका शमखानी कूटनीतिक क्षेत्रका प्रभावशाली पात्र थिए।
सन् २०२३ मा उनलाई पदबाट हटाइएपनि उनी सर्वोच्च नेता खामेनीका विश्वासपात्र सल्लाहकार रहिरहे। उनले चीनको मध्यस्थतामा साउदी अरबसँग इरानको सम्बन्ध सुधार गर्ने ऐतिहासिक वार्तामा नेतृत्व दिएका थिए।
अमेरिकी प्रशासनसँग आणविक वार्ता चलिरहँदा शमखानीले युएन आणविक निरीक्षकहरूलाई देश निकाला गर्नेसम्मको चेतावनी दिएका थिए, यदि इरानमाथि सुरक्षा खतरा देखियो भने।
क्षेत्रीय तनाव झनै चुलिने चिन्ता
यस कारवाहीपछि इरानको सैनिक संरचनामा गहिरो क्षति पुगेको छ। विश्लेषकहरूका अनुसार यस्तो प्रकारको आक्रमणले इरानको प्रतिरक्षा र आक्रमण क्षमतामा तत्काल असर पार्नेछ। साथै, इजरायल र इरानबीचको तनाव अझै बढ्न सक्ने आँकलन गरिएको छ।
अहिलेसम्म इरानले औपचारिक रूपमा इजरायलको यस कारवाहीमा प्रतिक्रिया दिएको छैन।
(श्रोत: सीएनएनको अनलाइन संस्करणमा आधारित)





