काठमाडौ | इजरायल र इरानबीचको सैन्य संघर्ष तेस्रो दिन प्रवेश गर्दै थप चुलिएको छ। दुबै पक्षबाट गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणले मध्यपूर्वमा पूर्ण क्षेत्रीय युद्धको खतरा बढाएको छ।
इरानद्वारा इजरायलमा क्षेप्यास्त्र र ड्रोन आक्रमण
इजरायलले इरान माथि अकस्मात गरेको आक्रमणको जवाफी हमला स्वरूप शनिबार रातिदेखि आइतबार बिहानसम्म इरानले इजरायलको उत्तरी क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्यो। हाइफा र टाम्रामा आक्रमण हुँदा कम्तिमा तीन जनाको मृत्यु र १३ जना घाइते भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। हाइफा तटीय क्षेत्रमा रहेको रणनीतिक ग्यास पूर्वाधारलाई लक्षित गरिएको आशंका गरिएको छ।
इजरायलद्वारा इरानमा पुन: हमला, तेहरान स्थित रक्षा मन्त्रालय र तेल डिपोमा लक्षित आक्रमण
इरानी समाचार संस्था तासनीमका अनुसार इजरायलले तेहरानस्थित इरानी रक्षा मन्त्रालयको मुख्यालयमा आक्रमण गरेको छ । साथै, तेहरान उत्तरपश्चिममा रहेको शाहरान तेल डिपोमा समेत आक्रमण भएको र त्यहाँ ठूलो आगलागी भएको छ। उद्धार टोलीहरू आगो निभाउने प्रयासमा खटिएका छन्।
दक्षिण पार्स ग्यास क्षेत्रमा समेत आक्रमण
यसअघि शनिबार इजरायलले इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण गरेको थियो । यो ग्यास क्षेत्र इरानको सबैभन्दा महत्त्वपूर्ण ऊर्जामध्ये एक हो, जसले घरेलु खपत र आर्थिक निर्यातमा ठूलो भूमिका खेल्दछ। इरानी अधिकारीहरूले आगो निभाइएको दाबी गरे पनि क्षतिको पूर्ण विवरण अझै अस्पष्ट छ।
इरानको भीषण मानविय क्षति: ८० जनाको मृत्यु, आणविक वैज्ञानिकहरु समेत मारिए
इजरायली आक्रमणमा तेहरान र अन्य क्षेत्रमा सैन्य र आवासीय क्षेत्रहरूमा आक्रमण हुँदा कम्तिमा ८० जनाको मृत्यु भएको र ३२० जना घाइते भएको इरानले जनाएको छ। मृतकमध्ये नौ जना आणविक वैज्ञानिकसमेत रहेका छन्।
इरानद्वारा इजरायलमा लगातार जवाफी हमला
इरानले जवाफी हमलामा ठूलो मात्रामा क्षेप्यास्त्र प्रहार गर्दा इजरायलको अत्याधुनिक मिसाइल प्रतिरक्षा प्रणालीले पूर्ण रुपमा रोक्न नसक्दा इजरायलमा मानवीय क्षति सहित भौतिक संचरनाहरु ध्वस्त पारिएका छन् । कम्तिमा चार जनाको मृत्यु र २०० जना घाइते भएको अन्तराष्ट्रिय सन्चार मध्यमहरुले जनाएका छन् । साथै, इरानी सञ्चारमाध्यमहरूले इजरायली एफ-३५ लडाकु विमान खसालेको दाबी गरेका छन्। तर इजरायलले यो खबर असत्य भएको प्रतिक्रिया दिएको छ।
आणविक वार्ता स्थगित
इरान र अमेरिकाबीच ओमानमा तय भएको आणविक वार्ता इजरायली आक्रमणका कारण रद्द भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आणविक कार्यक्रममा पछि हट्न दबाब दिइरहेका थिए। तर इरानी विदेशमन्त्री अब्बास अराग्चीले “बर्बर आक्रमण” जारी रहँदा वार्ताको कुनै अर्थ नरहेको बताएका छन्।
इजरायलको चेतावनी
इजरायली रक्षा मन्त्री इजरायल काट्जले कडा चेतावनी दिँदै भनेका छन्, “यदि खामेनेईले इजरायली भूमिमा मिसाइल प्रहार जारी राखे, भने तेहरान जल्नेछ।” इजरायलले हालसम्म १५० भन्दा बढी इरानी लक्ष्यहरूमा हमला गरिसकेको जनाएको छ।





