काठमाडौँ | इरान र इजरायलबीचको चर्किँदो तनावले नयाँ मोड लिँदै गएको छ। बुधबार राति इजरायली सेनाले इरानको केन्द्रीय प्रान्तको अराकस्थित हेभी वाटर रिएक्टर (IR-40) मा हवाई आक्रमण गरेको पुष्टि इरानी सरकारी सञ्चारमाध्यमले गरेका छन्।
इरानले रिएक्टर वरपरका क्षेत्रमा पूर्व सूचना दिँदै नागरिकलाई सुरक्षित स्थानमा हटाइएको बताएको छ भने कुनै रेडिएशन जोखिम नरहेको दाबी पनि गरेको छ। रिएक्टर हालसम्म पूर्णरूपमा सञ्चालनमा नरहेको र अझै निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइएको छ।
मिसाइल आक्रमणसँगै परमाणु तनाव
इजरायली आक्रमणपछि इरानले पनि मिसाइल तथा ड्रोनमार्फत इजरायलको विभिन्न क्षेत्रमा हमला गरेको छ। इजरायलका तेल अवीव, रामत गान र होलोन लगायतका शहरमा ३० भन्दा बढी मिसाइल प्रहार गरिएका छन्। इजरायली सुरक्षा निकायका अनुसार आक्रमणमा ४७ जना घाइते भएका छन्, भने केही अस्पतालहरूमा ठूलो क्षति पुगेको छ।
नेतन्याहूको चेतावनी र अमेरिकाको समर्थन
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी आक्रमणलाई “युद्ध अपराध” ठहर गर्दै कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनले राष्ट्रको सुरक्षाका लागि सबै विकल्प खुला रहेको स्पष्ट पारेका छन्।
यसैबीच, अमेरिकाले खाडी क्षेत्रका सैन्य बेसहरू सतर्क अवस्थामा राखिएको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले इजरायलप्रति पूर्ण समर्थन जनाउँदै “क्षेत्रीय अस्थिरता रोक्न संयमता अपनाउनुपर्ने” उल्लेख गरेको छ।
परमाणु कार्यक्रममाथि अन्तर्राष्ट्रिय निगरानी
अराक हेभी वाटर रिएक्टर इरानको परमाणु प्रविधि विकासमा रणनीतिक महत्व राख्ने केन्द्र हो, जसबाट प्लुटोनियम उत्पादन सम्भव छ। यसैकारण यो स्थल पश्चिमी मुलुकहरू, विशेषगरी अमेरिका र इजरायलको कडा निगरानीमा रहँदै आएको थियो।
इजरायली मिडियाहरूले यस आक्रमणलाई “रणनीतिक निवारणात्मक कारबाही” भन्दै इरानको आणविक क्षमता विकास रोकिने दाबी गरेका छन्। अर्कोतर्फ, इरानले यस्ता कारबाहीले प्रतिशोधको झन् कठोर रूप लिने संकेत दिएको छ।
इरान–इजरायल द्वन्द्व अब सामान्य सिमाना पारको हमला भन्दा पर जान थालेको देखिन्छ। परमाणु पूर्वाधारलाई निशाना बनाएको इजरायली कदम र इरानको आक्रोशित प्रतिक्रिया ले स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेको छ। यस्तो संवेदनशील घडीमा अमेरिका, रूस, चीन र संयुक्त राष्ट्रसंघले शान्ति कायम राख्न कूटनीतिक पहल चाँडो गर्नुपर्ने आवश्यकता झन् बढी महसुस भएको छ।





