मङ्लबार, भदौ २८, २०८३
Breaking News

इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलको बीअरसेभामा ठूलो क्षति

समाचार कक्ष शुक्रबार, असार ४, २०८२

इजरायल | इरानले शुक्रबार बिहान इजरायलको दक्षिणी सहर बीअरसेभामा क्षेप्यास्त्र आक्रमण गर्दा ठूलो क्षति भएको छ। टाइम्स अफ इजरायलका अनुसार यो आक्रमणमा सात जना सामान्य घाइते भएका छन् भने बस्ती र सवारी साधनमा ठूलो क्षति पुगेको छ।

बीअरसेभाको आवासीय क्षेत्रमा प्रहार हुँदा केही सवारी साधनमा आगो लागेको जनाइएको छ। यसअघि बिहीबार पनि सोही सहरको सोरोका अस्पतालमा इरानी प्रहार परेको थियो। अस्पतालले शुक्रबारको आक्रमणमा सात जना सामान्य घाइते भएर अस्पताल पुगेको जानकारी दिएको छ।

इरानी आक्रमणका क्रममा इजरायली रक्षा बल (IDF) ले चार वटा इरानी ड्रोन पनि खसालेको जनाएको छ। इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समा भनेको छ, “दक्षिण इजरायलमा इरानको क्षेप्यास्त्र प्रहारपछि साइरन बजिरहेका छन्।”

सीएनएनका अनुसार आक्रमण बीअरसेभास्थित एक प्रविधि पार्कमा पनि परेको थियो, जहाँ माइक्रोसफ्टको कार्यालय रहेको छ। इजरायली आपतकालीन सेवा संस्था मगेन डाभिड एडमले ‘रेड अलर्ट’ साइरनपछि प्रारम्भिक अवस्था रिपोर्ट गर्दै भनेको छ, “हालसम्म कुनै गम्भीर घाइतेको रिपोर्ट छैन। तर, हाम्रो टोली घटनास्थलतर्फ परिचालित छन् र भवनहरूमा खोजतलास भइरहेको छ।”

इजरायलको जवाफी आक्रमण: इरानमा सैन्य संरचना ध्वस्त

दोस्रो तर्फ, इजरायली वायुसेनाले बिहीबार राति इरानको राजधानी तेहरान र वरपरका क्षेत्रमा ठूलो हवाई आक्रमण गरेको छ। इजरायली रक्षा बलका अनुसार ६० भन्दा बढी लडाकु विमान प्रयोग गरी करिब १२० बम इरानी सैन्य लक्ष्यहरूमा खसालिएको छ।

इरानको रक्षा मन्त्रालयअन्तर्गत मिसाइल उत्पादन हुने विभिन्न उद्योगस्थलहरूमा आक्रमण गरिएको इजरायली रक्षा बलले जनाएको छ। तेहरानस्थित SPND मुख्यालयमा पनि आक्रमण भएको जनाइएको छ, जहाँ उन्नत प्रविधि र हतियार विकास गरिँदै आएको थियो।

कूटनीतिक प्रयास: वार्ताका लागि दुई साताको समय

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने वा नगर्ने निर्णय आगामी दुई हप्ताभित्र गर्ने बताएका छन्। “इरानसँग वार्ता हुने सम्भावना भएकोले म निर्णय गर्न दुई हप्ता कुर्नेछु,” व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले ट्रम्पको वक्तव्य पढेर सुनाइन्।

यससँगै बेलायत, फ्रान्स र जर्मनीका विदेश मन्त्रीहरू जेनेभामा इरानी विदेशमन्त्रीसँग वार्ता गर्न तयार भएका छन्। युरोपेली राष्ट्रहरूले इरान–इजरायल तनावलाई वार्तामार्फत् समाधान गर्न अन्तिम प्रयास गरिरहेका छन्।

सम्बन्धित खबर