मङ्लबार, भदौ २८, २०८३
Breaking News

पशुपति शवदाह गृहमा १० करोड बढी भ्रष्टाचारको आरोप : १६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा

समाचार कक्ष सोमवार, असार ७, २०८२

काठमाण्डौ | पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहको मेसिन खरिदमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले आइतबार कोषका तत्कालीन सदस्य सचिव मिलनकुमार थापा, निमित्त सदस्य सचिव राजुकुमार खत्री, कार्यकारी निर्देशक घनश्याम खतिवडा, उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, प्राविधिक सल्लाहकार युवराज अधिकारी, कानुनी सल्लाहकार लैनबहादुर थापालगायत १४ जना सरकारी कर्मचारी तथा दुई कम्पनीका सञ्चालकहरूविरुद्ध मुद्दा दायर गरेको हो।

मुद्दामा म्याप इन्टरप्रेनर्स प्रालि, एप्पल इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि र तिनका संचालक मनोज पुरी, यदुनन्दन भट्टराई, सुरज चापागाईं पनि प्रतिवादी छन्। अख्तियारका अनुसार उनीहरूको मिलेमतोमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बराबरको भ्रष्टाचार भएको छ।

शवदाह मेसिन खरिदमा सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै प्रतिस्पर्धीलाई वञ्चित गरी बोलपत्र आह्वान गरिएको, ३२ लाख ५० हजार भारू पर्ने मेसिनको मूल्य झुटो रूपमा देखाएर उच्च रकम भुक्तानी गरिएको र १ करोड ५२ लाख रुपैयाँ पेश्की दिइएको अख्तियारले जनाएको छ।

कम गुणस्तरको मेसिन जडान गरिएकाले अहिलेसम्म सञ्चालनमा आउन नसकेको र समयमै मर्मतसम्भार समेत नगरिएको आयोगको निष्कर्ष छ। अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार संलग्न सबै व्यक्ति तथा संस्थामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो।

सम्बन्धित खबर