मङ्लबार, भदौ २८, २०८३
Breaking News

अमेरिकी आक्रमणपछि इरान–इजरायल युद्धमा झनै चर्को तनाव, हर्मुज जलमार्ग बन्द गर्ने चेतावनी

समाचार कक्ष सोमवार, असार ७, २०८२

काठमाडौँ | इजरायल र इरानबीच लामो समयदेखि चलिरहेको शीतयुद्ध अहिले खुला युद्धमा परिणत भइसकेको छ। हालै अमेरिकाले इरानका मुख्य आणविक केन्द्रहरुमा आक्रमण गरेपछि युद्धको स्वरूप र दायरा दुवै बदलिएको छ। अमेरिकी कारबाहीसँगै यो क्षेत्रीय द्वन्द्वले अन्तर्राष्ट्रिय आयाम लिएको छ।

शनिबार राति, अमेरिकी वायुसेनाका स्टिल्थ बमवर्षकहरूले इरानको फोर्दो, नातान्ज र इस्फहानस्थित आणविक केन्द्रहरूमा आक्रमण गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै आक्रमणको पुष्टि गरे र यसलाई “इरानको आणविक धम्की अन्त्य गर्ने निर्णायक कदम” भनेर व्याख्या गरे।
“विश्वकै सबैभन्दा खतरनाक राज्य प्रायोजित आतङ्कवादको अन्त्यका लागि हामीले पहल गरेका हौं,” ट्रम्पले भने।

यो आक्रमण ‘अप्रेशन मिडनाइट ह्यामर’ को नाममा गरिएको थियो, जसमा विशेष प्रकारका भूमिगत बंकर ध्वस्त पार्ने बमहरू प्रयोग गरिएको थियो। अमेरिकी रक्षा अधिकारीहरूले आक्रमणले इरानको आणविक क्षमतामा गम्भीर क्षति पुर्‍याएको दाबी गरेका छन्।

तर, इरानले यसलाई अन्तर्राष्ट्रिय नियमको खुला उल्लंघन भन्दै तीव्र विरोध जनाएको छ। तेहरानले अमेरिकालाई “गम्भीर परिणाम भोग्न तयार रहन” चेतावनी दिँदै फारस खाडीको हर्मुज जलमार्ग बन्द गर्ने संकेत दिएको छ — जहाँबाट विश्वको २०–२५ प्रतिशत तेल ढुवानी हुन्छ।

इरानको प्रतिआक्रमणमा इजरायलको तटीय शहर तेल अवीवमा क्षेप्यास्त्र खसालिएको छ। इजरायलले पनि आफ्ना आकाश रक्षा प्रणालीहरू सक्रिय गर्दै थप आक्रमणको तयारी गरिरहेको जनाएको छ।

दुबै मुलुकबीचको आक्रमण–प्रत्याक्रमण चलिरहेकै बेला, यस युद्धको असर मानवीय र कूटनीतिक क्षेत्रतर्फ फैलिएको छ। अहिलेसम्म इरानमा ४०० भन्दा बढी नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलमा पनि २४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस अवस्थापछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आपतकालीन बैठक बोलाएको छ। रूस, चीन, युरोपेली संघलगायत देशहरूले तुरुन्त युद्धविरामका लागि आह्वान गरिरहेका छन्। अमेरिकी आक्रमणपछि इरानले आफ्नो आणविक कार्यक्रम झन् तीव्र बनाउने सक्ने विश्लेषकहरूको अनुमान छ।

यता, अमेरिकाभित्रै राष्ट्रपति ट्रम्पको कदमप्रति आलोचना शुरू भएको छ। कतिपय सांसदहरूले बिना संसदको अनुमतिमा युद्ध शुरू गरेको भन्दै कानुनी प्रश्न उठाएका छन्।

अहिले सम्पूर्ण विश्वको ध्यान फारस खाडीमा केन्द्रित छ। तेलको मूल्यमा आकस्मिक वृद्धि देखिन थालेको छ भने अन्तर्राष्ट्रिय बजारमा अस्थिरता बढेको छ। यो द्वन्द्व अझै विकासोन्मुख अवस्थामा छ — जसले मध्यपूर्व र विश्वको राजनीतिक, आर्थिक तथा सुरक्षात्मक सन्तुलनलाई दीर्घकालीन असर पार्न सक्ने संकेत देखिएको छ।

सम्बन्धित खबर