काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्ड परिसर आज बिहानैदेखि केही विशेष चहलपहलले भरिएको छ। बोर्डका अधिकारीहरू , प्राविधिक टोलीहरू कम्प्युटर स्क्रिनमा आँखा गाडिरहेका छन्, अनि देशभरबाट सञ्चारकर्मीहरू बोर्डको मुख्य कार्यालयको ढोकामा खबर संकलन गर्न प्रतीक्षारत छन् । परिक्षा बोर्डले डेमो प्रकाशन परिक्षण सफलतापुर्वक सम्पन्न गरिसक्यो । सबैको पर्खाइको एउटै विषय हो एसईई २०८१ को नतिजा।
अन्ततः बोर्ड बैठकबाट एक निर्णायक खबर बाहिरियो एसईई २०८१ को नतिजा आज साँझ ६ बजे सार्वजनिक हुनेछ। परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक गणेश भट्टले पत्रकारहरूलाई जानकारी दिँदै भने, “हामीले सबै आवश्यक तयारी पूरा गरिसकेका छौं, अब केही घण्टामै विद्यार्थीहरूले आफ्नो भविष्यको पहिलो सिँढीमा पाइला टेक्नेछन्।”
५ लाख विद्यार्थीको प्रतीक्षा
२०८१ सालको चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षामा देशभरका विभिन्न विद्यालयबाट ४ लाख ३१ हजार ४६६ विद्यार्थी नियमिततर्फ सहभागी भएका थिए। यसका अतिरिक्त, ग्रेड वृद्धि कार्यक्रम अन्तर्गत ६७ हजार ७१५ परीक्षार्थीले दोहोर्याएर परीक्षा दिएका थिए। यसरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थीको भविष्य आज साँझ सात अंकको एउटा सिम्बोल नम्बरमा टाँसिएको नतिजासँगै झल्किनेछ।
अभिभावकको आशा, विद्यार्थीको धड्कन
विद्यालयहरूमा विद्यार्थी र अभिभावकहरूको चहलपहल सुरु भइसकेको छ। कतै मोबाइल फोनको स्क्रिन ताकेर नतिजा आउने संकेत खोजिँदैछ, कतै इन्टरनेट कनेक्सन बलियो बनाउन डाटा कार्ड फेरिँदैछ। शिक्षकहरू भने विद्यार्थीसँग सम्वाद गर्न तत्पर छन् त कसैले ढाडस दिइरहेका छन्, कसैले सल्लाह।
पाँच लाख विद्यार्थीका पाँच लाख कथा छन्— कसैले गाउँमा बसेर गाईबस्तु पाल्दै पढाइलाई निरन्तरता दिए, कसैले भूकम्पले भत्काएको घरको त्रिपालमुनि बसेर किताब खोले। कसैले मोबाइल नहुँदा साथीको सहयोगमा पढे, कसैले सहरको होस्टेलमा बसेर तयारी गरे। ती सबै कथा आज साँझ ६ बजे एउटा संख्यामा परिणत हुँदैछ, जिपिए नतिजाको रुपमा।
नतिजा हेर्ने व्यवस्था
राष्ट्रिय परीक्षा बोर्डले नतिजा हेर्नको लागि विविध माध्यम उपलब्ध गराएको छ।
- वेबसाइट:
विद्यार्थीहरूले www.see.gov.np, www.ntc.net.np, र अन्य बोर्डसँग आवद्ध वेबसाइटहरूमा गएर नतिजा हेर्न सक्नेछन्। - एसएमएस:
मोबाइलको म्यासेज बक्समाSEE <space> Symbol Numberलेखी १६०० मा पठाएपछि पनि नतिजा प्राप्त हुनेछ। - IVR सेवा:
नेपाल टेलिकमको १६०० नम्बरमा फोन गरेर सिम्बोल नम्बर राख्दा आवाजमार्फत नतिजा सुन्न सकिने व्यवस्था गरिएको छ।
बोर्डको सावधानी र सन्देश
नतिजा प्रकाशनसँगै धेरै विद्यार्थीले एकैपटक इन्टरनेट र एसएमएस सेवा प्रयोग गर्ने भएकाले प्रणालीमा केही ढिलाइ हुनसक्ने बोर्डले जनाएको छ। संयमता अपनाउन अनुरोध गर्दै बोर्डले भनेको छ, “नतिजा मात्र सफलताको एक खुड्किलो हो, तर जीवनको सम्पूर्ण मापन होइन।”
एसईई २०८१ को यो प्रतीक्षित क्षणसँगै सुरु हुनेछ लाखौँ विद्यार्थीहरुको नयाँ अध्याय— नयाँ सपना, नयाँ तयारी र नयाँ संघर्षको |





