पर्यटन उद्योग संसारभर आर्थिक विकास, रोजगारी र सांस्कृतिक आदान–प्रदानको महत्वपूर्ण माध्यम मानिन्छ। तर जब कुनै ठाउँमा अनियन्त्रित रूपमा अत्यधिक संख्यामा पर्यटकको आगमन हुन्छ, त्यो “अधिक पर्यटन” (Overtourism) को स्थितिमा पुग्छ। यस्तो अवस्था उत्पन्न हुँदा पर्यावरणदेखि समाज, संस्कृति र जनजीवनमा गम्भीर असर पर्न थाल्छ।
अहिले विश्वका धेरै प्रसिद्ध गन्तव्यहरू — जस्तै बार्सिलोना, वेनिस, आम्स्टर्डम, बाली, माचु पिच्चु आदि — अधिक पर्यटनबाट पीडित छन्। युरोपका प्रमुख पर्यटकीय गन्तव्यहरूमा अधिक पर्यटन (ओभरटुरिजम) विरुद्ध स्थानीय बासिन्दाको आन्दोलन चर्कंदै गर्दा नेपालका लागि पर्यटन क्षेत्रमा केही महत्त्वपूर्ण अवसरहरू सिर्जना हुन सक्छन् । युरोपमा पर्यटकविरोधी भावना बढ्दै जाँदा र पर्यटकहरूले वैकल्पिक गन्तव्यको खोजी गर्दा नेपालले आफ्ना प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकीय उत्पादनहरूलाई नयाँ तरिकाले प्रस्तुत गरेर फाइदा लिन सक्छ।
युरोपमा बढ्दो भीडभाड, महँगो जीवनयापन, आवासको अभाव र स्थानीय संस्कृतिमाथि परेको नकारात्मक प्रभावका कारण धेरै पर्यटकहरू अब शान्त, स्वच्छ र भिन्न अनुभव दिने गन्तव्यको खोजीमा छन्। यही सन्दर्भमा नेपाल वा नेपाल जस्तै पर्यटकको पर्खाइमा बसेका प्राकृतिक श्रोत र सौन्दर्यले भरिपूर्ण देशले पर्यटक आकर्षण गर्ने उपाय सुरु गरिहाल्न सक्नुपर्छ, जसका केहि तरिकाहरु निम्न छन्:
१. शान्त र प्रकृतिमा आधारित पर्यटनको प्रवर्द्धन: युरोपका सहरहरूमा हुने अत्यधिक भीडभाडबाट आजित भएका पर्यटकहरूले शान्त र प्रकृतिको काखमा रमाउने ठाउँ खोजिरहेका हुन्छन्। नेपालले यो आवश्यकता पूरा गर्न सक्छ।
- हिमाली पदयात्रा (Trekking): सगरमाथा, अन्नपूर्ण, लाङटाङजस्ता विश्व प्रसिद्ध पदयात्रा मार्गहरूले साहसिक पर्यटकलाई आकर्षित गर्न सक्छन्। यहाँको शान्त वातावरण, रमणीय दृश्य र स्थानीय संस्कृतिले उनीहरूलाई भिन्न अनुभव दिन्छ।
- ग्रामीण पर्यटन (Rural Tourism): नेपालका ग्रामीण क्षेत्रहरूमा गरिने सामुदायिक पर्यटनले पर्यटकलाई स्थानीय जीवनशैली, संस्कृति र प्रामाणिक अनुभव प्रदान गर्छ। यस्ता स्थानमा ठूला होटल चेनहरूको सट्टा होमस्टे र स्थानीय गेस्ट हाउसहरूले मौलिकता जोगाउन मद्दत गर्छन्।
२. संस्कृति र आध्यात्मिकतामा आधारित पर्यटन: युरोपका पर्यटकीय स्थलहरूमा संस्कृति केवल हेर्ने वस्तु बन्छ भने नेपालले गहिरो सांस्कृतिक र आध्यात्मिक अनुभव प्रदान गर्न सक्छ।
- सांस्कृतिक सहभागिता: नेपालका विभिन्न जातीय समूहहरूको अद्वितीय संस्कृति, चाडपर्व र परम्परामा पर्यटकलाई सहभागी गराउन सकिन्छ। उदाहरणका लागि, नेवारी संस्कृति, गुरुङ, तामाङ, शेर्पा समुदायका रीतिरिवाजहरूले पर्यटकलाई नयाँ दृष्टिकोण दिन्छन्।
- आध्यात्मिक र योग पर्यटन: लुम्बिनी (बुद्धको जन्मस्थल), पशुपतिनाथ (हिन्दुहरूको पवित्र स्थल) र विभिन्न गुम्बा तथा ध्यान केन्द्रहरूले शान्ति र आध्यात्मिकता खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्छन्। योग र ध्यान रिट्रिटहरूले पनि ठूलो सम्भावना बोकेका छन्।
३. दिगो र जिम्मेवार पर्यटनको विकास: ओभरटुरिजमको मुख्य समस्या भनेको यसको गैर जिम्मेवार पन हो। नेपालले सुरुदेखि नै दिगो पर्यटन (Sustainable Tourism) र जिम्मेवार पर्यटन (Responsible Tourism) लाई प्राथमिकता दिएर फरक पहिचान बनाउन सक्छ।
- वातावरणीय सचेतना: पर्यटकीय क्षेत्रमा फोहोरमैला व्यवस्थापन, प्लास्टिक न्यूनीकरण र वातावरणीय सन्तुलनमा जोड दिनुपर्छ। यसले वातावरण प्रेमी पर्यटकलाई आकर्षित गर्छ।
- स्थानीय लाभ: पर्यटनबाट प्राप्त आम्दानी स्थानीय समुदायमा कसरी पुग्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। यसले स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउँछ र पर्यटक विरोधी भावना उत्पन्न हुन दिँदैन।
- कम प्रभाव पार्ने पर्यटन (Low-impact Tourism): ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउनुभन्दा गुणस्तरीय र कम नकारात्मक प्रभाव पार्ने पर्यटकलाई आकर्षित गर्ने नीति लिनुपर्छ।
४. नयाँ गन्तव्यहरूको प्रवर्द्धन: काठमाडौं, पोखरा, चितवनजस्ता स्थापित गन्तव्यबाहेक नेपालका अन्वेषण नगरिएका र सुदुर ग्रामिण भेगमा लुकेका गन्तब्यलाई विश्वसामु चिनाउने यो उपयुक्त समय हो।
- पूर्व र सुदूरपश्चिमका सम्भावना: पूर्वी नेपालको चिया बगान, इलाम, ताप्लेजुङको पाथीभरा, कोसीटप्पु वन्यजन्तु आरक्ष, तथा सुदूरपश्चिमका खप्तड, रारा, शुक्लाफाँटा जस्ता क्षेत्रहरूमा नयाँ पर्यटकीय पूर्वाधार विकास गरी प्रवर्द्धन गर्न सकिन्छ।
- सिजन विस्तार: उच्च सिजनमा मात्र नभई वर्षायाम र जाडोमा पनि पर्यटक आकर्षित गर्न सकिने गन्तव्यहरू पहिचान गरी सोहीअनुसारका गतिविधिहरू (जस्तै: बोटानिकल टुर, चरा अवलोकन) प्रवर्द्धन गर्न सकिन्छ।
५. लक्षित बजार पहिचान र प्रवर्द्धन रणनीति: युरोपमा ओभरटुरिजमबाट प्रभावित भइरहेका देशहरू (जस्तै: स्पेन, इटाली, फ्रान्स, जर्मनी) का पर्यटकहरूलाई लक्षित गरी नेपालले आफ्नो प्रवर्द्धन रणनीति बनाउन सक्छ।
- डिजिटल मार्केटिङ: सामाजिक सञ्जाल, ट्राभल ब्लगर, भ्लगर र अनलाइन प्लेटफर्महरूको प्रयोग गरेर नेपालको अद्वितीय प्रकृति र संस्कृतिलाई विश्वसामु प्रस्तुत गर्ने।
- ट्राभल एजेन्सीहरूसँग सहकार्य: युरोपका ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी नेपालका विशेष प्याकेजहरू डिजाइन गर्ने, जसमा प्रकृति, संस्कृति र साहसिक गतिविधिहरूको मिश्रण होस्।
- पर्यटन मेलामा सहभागिता: युरोपका प्रमुख पर्यटन मेला तथा प्रदर्शनीहरूमा सक्रिय सहभागिता जनाएर नेपाललाई एक आकर्षक र वैकल्पिक गन्तव्यका रूपमा प्रस्तुत गर्ने।
युरोपमा चलिरहेको पर्यटकविरोधी आन्दोलन नेपालका लागि पर्यटन क्षेत्रमा नयाँ ढोका खोल्ने अवसर हो। यस अवसरलाई सदुपयोग गर्न नेपालले गुणस्तरीय, दिगो र जिम्मेवार पर्यटनमा जोड दिनुपर्छ। ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउनुभन्दा पर्याप्त पूर्वाधार र सेवा सुविधाका साथै मौलिक अनुभव प्रदान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। यसले नेपाललाई विश्व पर्यटन बजारमा एक छुट्टै र आकर्षक पहिचान दिलाउनेछ, जहाँ पर्यटकले शान्ति, प्रकृति र प्रामाणिक संस्कृतिमा रमाउन पाउँछन्।





