सङ्खुवासभा | खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी निर्माण गरिएको १५ शैयाको खाँदबारी नगर अस्पताल बुधबारदेखि औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।
‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअनुसार खाँदबारी नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो। रु ३ करोड ७३ लाख ५१ हजारको लागतमा निर्माण सम्पन्न भएको अस्पताल भवनबाट स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा नजिकबाट पाउने भएका छन्।
अस्पतालको उद्घाटन समारोहमा कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल, लगायतका स्थानीय विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
पूर्व मन्त्री कार्कीले अस्पतालमा आवश्यक उपकरण तथा सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनाबाट मेडिकल अधिकृतसहितका चिकित्सकको व्यवस्था गरेर सेवा प्रवाह गरिने जानकारी दिए।
स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो अस्पतालले विशेषगरी खाँदबारी नगरपालिका तथा आसपासका बासिन्दालाई राहत दिने अपेक्षा गरिएको छ।





