रसुवा | चीनतर्फको उच्च भेगमा परेको वर्षापछि आएको भीषण बाढीले रसुवामा अवस्थित नेपाल–चीन सीमास्थित मितेरी पुल बगाएको छ। भोटेकोसी नदीमा मध्यराततिर आएको बाढीले पुलसँगै रसुवागढी नाकामा पार्किङ गरिएका सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का दर्जनौँ गाडी बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ।
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको भन्सार नाकामा राखिएका ट्रक, कन्टेनर, लोडरलगायतका गाडीहरू बाढीमा बगेका छन्। पुल बगाएपछि नेपाल–चीन सिमाना पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार कार्य सुरु गरिसकेका छन्। अहिलेसम्म प्राप्त जानकारी अनुसार १२ जना नेपाली र ६ जना चिनियाँ नागरिक गरी कम्तीमा १८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि हेलिकप्टरमार्फत खोजी अभियान चलाइएको छ।
रसुवा क्षेत्रका प्रतिनिधिसभा सांसद मोहन आचार्यले मितेरी पुल बगेपछि व्यापारिक आवागमन पूर्ण रुपमा बन्द भएको र वैकल्पिक मार्ग खोजिनुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार रसुवागढी भन्सार क्षेत्रका भौतिक संरचनाहरू पनि बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएका छन्।
बाढी बिहान करिब सवा ३ बजेतिर आएको थियो। स्थानीय प्रशासनका अनुसार बाढीको स्रोत चीनको भित्री भागमा परेको मुसलधारे पानीका कारण भएको हो। नदीको वहाव अस्वाभाविक रूपले बढेपछि पुलसहितका संरचना बगाएको बताइएको छ।
हाल घटनास्थलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, जनप्रतिनिधि र स्वयंसेवक टोली उद्धार तथा राहत कार्यमा खटिएका छन्। बेपत्ताको खोजी जारी छ भने नदीको बहाव अझै उच्च रहेको कारण जोखिम कायमै छ।
यस घटनाले नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका पूर्ण रूपमा बन्द भएको छ। जसको प्रत्यक्ष असर आयात–निर्यात कारोबारमा पर्ने निश्चित छ। व्यापारीहरूले अब वैकल्पिक मार्ग अर्थात् भारत हुँदै सामान ओसारपसार गर्नुपर्ने बाध्यता आइपर्नेछ ।
जिल्ला प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बस्तीहरूमा सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।





