काठमाडौं | देशभर वर्षाले सृजित बाढी र पहिरोका कारण नेपालका प्रमुख राजमार्गहरू ठप्प भएका छन्। पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।
सरकारी तथा स्थानीय प्रशासनका अनुसार हालसम्म काठमाण्डौ–तराई जोड्ने बिपी राजमार्ग, पासाङ ल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, कालिगण्डकी क्यारिडोर लगायत दर्जनौं सडक खण्ड अवरुद्ध छन्।
🔴 कुन–कुन राजमार्गमा के अवस्था?
▶ पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग
नवलपरासी पूर्वको खुर्सानी खोला नजिक बाढीले सडक बगाएपछि पूर्व–पश्चिम यातायात पूर्ण रूपमा रोकिएको छ। स्थान–स्थानमा ट्रक, बस, एम्बुलेन्स समेत रोकिएका छन्। उद्धार टोली परिचालन गरिएको छ।
▶ सिद्धार्थ राजमार्ग
पाल्पाको सिद्धबाबा मन्दिर आसपास ठूलो पहिरो खसेको छ। सयौं यात्रु बाटोमै फसेका छन्। वर्षा नरोकिएकाले डोजर प्रयोगमा कठिनाइ भइरहेको बताइएको छ।
▶ कालिगण्डकी क्यारिडोर
बागलुङ नगरपालिका–१० मा पहिरोले सडक थुनिएको छ। दार्चे हुँदै गण्डकी प्रदेशका पहाडी जिल्लासम्मको आवागमन प्रभावित भएको छ।
▶ पासाङ ल्हामु राजमार्ग
रसुवाको गोसाईकुण्ड गाउँपालिका र भोटेकोशी किनारको बाढीले नेपाल–चीन मितेरी पुल समेत बगाएको छ। रसुवागढीसम्मको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
▶ बिपी राजमार्ग
काभ्रेको मङ्गलटार, चारसेबेसी र पिङथली आसपासमा पहिरो खसेको छ। सिन्धुली जाने बाटोमा गाडीहरू काभ्रेवञ्ज्याङमै रोकिएका छन्।
▶ कान्ति लोकपथ (काठमाडौँ–हेटौंडा)
थिङ्गन–बगुवा खण्ड नजिक ठूलो पहिरो खसेको छ। यात्रुहरूलाई सकभर वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ।
🛑 अन्य सडकहरू पनि प्रभावित
- जयपृथ्वी राजमार्ग (बझाङ) – पहिरोले सडक ठप्प
- मेची राजमार्ग (पाँचथर) – अस्थायी सडक कटान
- बहेरी–डोल्पा मार्ग – सवारी आवागमन अवरुद्ध
- जाजरकोट–रुकुम सडक – पहिरोका कारण बत्ती र संचार समेत प्रभावित
सडक खुलाउन प्रयास जारी
सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय सडक डिभिजन कार्यालयका प्राविधिक टोली सडक खुलाउन प्रयासरत छन्। कतिपय स्थानमा स्काभेटर र डोजरमार्फत पहिरो हटाउने काम सुरु गरिएको छ। तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको बताइएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी २–३ दिनसम्म भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा नदी आसपासका क्षेत्रमा अझै बाढीपहिरोको जोखिम रहेको छ।
विभागले स्थानीय तहलाई उच्च सतर्कता अपनाउन र सर्वसाधारणलाई अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ।





