नोएडा, भारत | नेपालका एमएमए (मिक्स्ड मार्शल आर्ट) खेलाडी रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित हासिल गरेका छन्। “बान्टमवेट श्रेणी’ अन्तर्गत भएको मुख्य प्रतिस्पर्धामा उनले भारतीय खेलाडी चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा ‘नकआउट’ मार्फत पराजित गर्दै उपाधि हात पारेका हुन्।
ढाँटको यो जितसँगै नेपालले अन्तर्राष्ट्रिय एमएमए मञ्चमा पुनः एकपटक आफ्नो पहिचान मजबुत बनाएको छ। भिडन्तको सुरुवातदेखि नै आक्रामक रणनीतिमा देखिएका ढाँटले पहिलो दुई राउन्डमा प्रतिद्वन्द्वीलाई दबाबमा राखे। निर्णायक तेस्रो राउन्डमा उनले कडा प्रहारसहित कोरेनलाई लड्न असमर्थ बनाउँदै ‘नकआउट’ जित दर्ता गरे।
एमएफएन १७ को मुख्य इभेन्टमा ढाँटको नाम समावेश हुनु नै गौरवको विषय मानिएको थियो भने अब उपाधि जित्दै उनले नेपालको खेल इतिहासमा अर्को गौरवमय अध्याय थपेका छन्। दर्शकहरूले उनको लडाइँलाई रोमाञ्चक, सन्तुलित र प्रेरणादायी भन्दै प्रशंसा गरेका छन्।
विजयपश्चात रविन्द्र ढाँटले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “यो जित नेपाललाई समर्पित हो। नेपाली खेलाडीको साहस, मेहनत र क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित भएको छ।” उनले आगामी दिनमा थप कडा मिहिनेत गर्दै विश्वस्तरीय लिगमा प्रतिस्पर्धा गर्ने योजना रहेको बताए।
यो जितसँगै ढाँटलाई ‘”बान्टमवेट च्याम्पियन’ को उपाधिसहित विशेष सम्मान दिइएको छ। यसका साथै, नेपालका विभिन्न खेल संघ, खेलप्रेमी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत ढाँटको जितप्रति बधाई ज्ञापन गर्दै यो उपलब्धिले सम्पूर्ण देशवासीको शिर गर्वले उचो बनाएको उल्लेख गरेका छन्।
रविन्द्र ढाँटको यो जित न केवल व्यक्तिगत सफलता हो, तर यो समस्त नेपाली युवा तथा एमएमए खेलाडीका लागि प्रेरणाको स्रोत पनि बन्न पुगेको छ।





