काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ। श्रावण १९ गते साँझ ७ बजे बोर्डले नतिजा प्रकाशन गरेको हो।
बोर्डका अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, भने बाँकी ३८.८३ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न सकेनन्। यो वर्ष देशभरबाट ५ लाख १० हजार ९८७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थी रहेका थिए।
नतिजा सार्वजनिक गरेसँगै परीक्षा नियन्त्रक कार्यालयले विद्यार्थीले प्राप्त गरेको ग्रेडबारे जानकारी समेत सार्वजनिक गरेको छ।
GPA अनुसार विद्यार्थीको विवरण:
- GPA 3.61–4.00: १३ हजार ५०२ जना
- GPA 3.21–3.60: ५५ हजार ८९६ जना
- GPA 2.81–3.20: ९४ हजार २६८ जना
- GPA 2.41–2.80: ६९ हजार ८१२ जना
- GPA 2.01–2.40: ८ हजार ९६४ जना
- GPA 1.61–2.00: २३ जना
- Non-Graded (NG): १ लाख ५३ हजार ८८२ जना
बोर्डका अनुसार २४२ हजार ४६५ नियमित विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् भने आंशिकतर्फ ४१ हजार ८४० जना सफल भएका छन्।
परीक्षा तालिका र सञ्चालन
कक्षा १२ को परीक्षा २०८२ बैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन गरिएको थियो। देशभरका ७७ वटै जिल्लामा १५९१ परीक्षा केन्द्र सञ्चालन गरिएका थिए भने विदेशमा एक केन्द्र जापानमा राखिएको थियो।
यसपटक शिक्षक आन्दोलनका कारण परीक्षा तालिकामा ढिलाइ भएको थियो। परीक्षा सुरु हुनु केही दिनअघि मात्र आन्दोलन फिर्ता भएपछि परीक्षा सुचारु गरिएको थियो।
नतिजा हेर्ने तरिका
विद्यार्थीले आफ्नो नतिजा निम्न माध्यमबाट हेर्न सक्नेछन्:
- वेबसाइटमार्फत:
- neb.gov.np
- neb.ntc.net.np
- SMS द्वारा:
- “NEB <space> Symbol Number” टाइप गरी 1600 मा पठाउने
- IVR सेवा:
- 1601 मा फोन गरी निर्देशनअनुसार विवरण प्रविष्ट गर्ने
- USSD कोड:
- *1600# डायल गरी निर्देशित चरणहरू पूरा गर्ने
ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरूले पुनः परीक्षण (supplementary) वा पुनरावलोकन (re-totaling) का लागि आवेदन दिन सक्नेछन्। बोर्डले यसको जानकारी छिट्टै सार्वजनिक गर्ने जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित भएपछिका सबै प्रक्रिया पारदर्शी र प्रणालीगत बनाउने प्रतिबद्धता जनाएको छ।





