मङ्लबार, भदौ २८, २०८३
Breaking News

अमेरिकाको टेक्सासमा गोलीकाण्ड : एकै परिवारका तीन नेपालीभाषीको मृत्यु

समाचार कक्ष मङ्लबार, साउन २६, २०८२

डालास, टेक्सास । अमेरिकाको टेक्सास राज्यको डालास सहरमा रहेको ओक क्लिफ क्षेत्रमा भएको गोलीकाण्डमा तीन जना नेपालीभाषीको मृत्यु भएको छ । घटनामा एक ३ वर्षीय बालक र एक ३७ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको छ भने ५३ वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको छ । यो घटनाबारे अनुसन्धानमा संलग्न अधिकारीहरुले हत्या पछि आत्महत्या भएको प्रारम्भिक अनुमान गरेका छन् ।

घटना स्थानीय समय अनुसार शनिबार बिहान करिब २:१० बजे ओक क्लिफको डडली एभेन्युको १९०० ब्लकमा रहेको एक घरमा भएको हो । मेडिकल परीक्षकको रिपोर्ट अनुसार, मृत्यु भएको स्थान १९१८ डडली एभेन्यु हो । प्रहरीका अनुसार, गोलीकाण्डको सूचना पाएपछि डालास प्रहरी र फायर-रस्क्यू टोली घटनास्थल पुगेका थिए ।

मृतकहरूमा ३ वर्षीय बालक प्रणिश प्रधान र ३७ वर्षीया महिला रञ्जना श्रेष्ठ रहेका छन् । उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ । संदिग्ध मानिएका व्यक्ति ५३ वर्षीय ललित प्रधान रहेका छन् । ललितलाई गोली लागेको र धेरै चोटहरू लागेको अवस्थामा फेला पारिएको थियो । उनलाई अस्पताल लगिए पनि त्यहाँ उनको मृत्यु भएको हो । उनीहरूबीचको सम्बन्धबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन ।

प्रहरीले यो घटनालाई दोहोरो हत्या र आत्महत्या भएको आशंका गरेको छ ।

घटनामा ज्यान गुमाएकाहरु भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत नेपालबाट अमेरिका गइ बसोबास गर्दै आएको नेपाली भाषी भुटानी परिवार भएको बताइएको छ। यो घटनाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायमा स्तब्धता पैदा गरेको छ । समाचार स्रोत: सीबीएस न्यूज टेक्सास

सम्बन्धित खबर