काठमाडौ | अविरल वर्षाका कारण तीन दिनदेखि रोकिएका काठमाडौं भित्रिने र बाहिरिने प्रमुख राजमार्गहरू खोल्ने सरकारी तयारी सुरु भएको छ। पानी पर्न रोकिएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पश्चिमतर्फको सडक खण्डहरू सञ्चालनमा ल्याउने तयारी गरेको हो।
मन्त्रालयका स्रोतका अनुसार हाल बीपी राजमार्गबाहेक अन्य सबै सडकमार्गमा गाडी सञ्चालन गर्न तयारी भइरहेको छ। काठमाडौं–नारायणगढ र काठमाडौं–पोखरा सडक खण्डमा पहिरोका कारण अवरुद्ध भएका स्थानहरूमा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले हाल वर्षा हुने क्रम अन्त्यतिर पुगेको जानकारी दिएका छन् । उनका अनुसार ठूलो पानी पार्ने मौसमी प्रणाली मध्यक्षेत्रबाट बाहिरिएकाले अब ठूला वर्षाको सम्भावना छैन।
अनुमान गरिएभन्दा छिटो मौसम सफा हुँदै गइरहेको र पूर्वतर्फको प्रणाली पनि निष्क्रिय हुँदै गएकाले पश्चिमतर्फ यातायात सञ्चालनका लागि अनुकूल मौसम बनेको बताइएको छ ।
सरकारले वर्षा र बाढी–पहिरोको जोखिमका कारण असोज १८, १९ र २० गते काठमाडौं भित्रिने र बाहिरिने यातायात पूर्णरूपमा रोक्ने निर्णय गरेको थियो। अहिले वर्षा थामिएपछि बन्द सडक र हवाई मार्ग दुबै क्रमशः सञ्चालनमा फर्किँदै छन्।
हिजोदेखि स्थगित आन्तरिक हवाई उडानहरू आज बिहानैदेखि पुनः सुरु भएका छन्। त्यस्तै, काठमाडौं उपत्यकामा पनि पानी पर्न रोकिएको छ । अहिले मधुरो घामको प्रकाशसँगै उपत्यकाका अधिकांश स्थानमा जनजीवन सामान्य अवस्थामा फर्किँदै गएको छ।





