काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ। भारतीय भूभागमा प्रवेश गरेपछि उक्त प्रणाली बिस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रको रूपमा नेपालको मध्य भू–भाग नजिक आइ पूर्वतर्फ सर्दै जाने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस प्रणालीको प्रभावले मिति २०८२/०७/१३ गते बिहीबार दिउँसोदेखि मिति २०८२/०७/१५ गते शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम उल्लेख्य रूपमा प्रभावित हुने देखिएको छ।
वर्षा र हिमपातको सम्भावना
महाशाखाले दिएको विवरण अनुसार उक्त अवधिमा मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, मधेश र कोशी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका लागि महाशाखाले विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र गण्डकी प्रदेशका त्यस्तै भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात हुन सक्ने देखिएको छ।
त्यसैगरी, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ।
नदी–नालामा आकस्मिक बहावको जोखिम
हालको मौसमीय विश्लेषणअनुसार उक्त प्रणालीको प्रभावका कारण बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ।
विशेष गरी कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने स–साना नदी–नालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ।
उच्च जोखिममा पर्ने जिल्लाहरूमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी रहेका छन्।
यी जिल्लाभित्रका स–साना नदीहरूमा आकस्मिक बाढी तथा पहिरोको जोखिम उच्च रहने देखिएको छ।
विभागको अनुरोध
मौसम विभागले उक्त संभावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रको नियमित अनुगमन र विश्लेषण भइरहेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ।
विभागका अनुसार सम्भावित वर्षा र हिमपातका कारण नदी–नालामा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायात अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ।
विभागले सबै सरोकारवाला निकाय र आम सर्वसाधारणलाई आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्रि सेवा (११५५) र SMS सेवा मार्फत जारी गरिने अद्यावधिक सूचना प्राप्त गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।





