मङ्लबार, भदौ २८, २०८३
Breaking News

विद्या र सिर्जनाको पर्व: आज नेपालभर सरस्वती पूजा मनाइँदै

समाचार कक्ष शुक्रबार, माघ ८, २०८२

काठमाडौं | आज वसन्तपन्चमी पर्व तथा सरस्वती पूजा। यस अवसरमा हिन्दु धर्मावलम्वीहरुले, साथै नेपाली समाजमा विद्या, कला, विज्ञान र संगीतकी देवी सरस्वतीको आराधना गर्दै वसन्तश्रवण तथा माता सरस्वतीको पूजा गर्ने प्रचलन छ । ‘ब्रह्म भिभर्त पुराण’का अनुसार भगवान् श्रीकृष्णले विद्या र ज्ञानका प्रतीक देवी सरस्वतीलाई आजको दिन स्मरण गर्दै पूजा गर्न सुझाव दिएका थिए।

आज बिहानै उठेर प्रातः स्नान गरी सफा कपडा लगाएर घरमा वा विद्यालयमा कलश स्थापना गरिन्छ। त्यसपछि क्रमशः गणेश, विष्णु, शिव र सूर्यदेवको पूजा गरेर अन्ततः सरस्वतीको आराधना गरिन्छ। यो परम्परा नेपाली समाजमा शिक्षा, सिर्जना र संस्कृति प्रवर्द्धन गर्ने अभ्यासको रूपमा पनि रहेको छ।

विद्यालय र विद्यार्थीहरूमा चहलपहल

विद्यालयहरूमा आजको दिन विशेष पूजा र चहलपहलले भरिएको हुन्छ। विद्यार्थीहरूले आफ्ना पुस्तक, कलम र लेखन सामग्री सरस्वतीको चरणमा राखेर पूजा गर्दछन्। कतिपय विद्यालयमा “अक्षरारम्भ “कार्यक्रम आयोजना गरी साना बालबालिकाले पहिलो अक्षर लेख्ने परम्परा पूरा गर्दछन्।

तराईका जिल्लामा आजको दिन रङ्गिन गुलिया, रसिला बुनियाँको दाना, बयर र अन्य फलफूलहरू प्रसादका रूपमा वितरण गरिन्छ। केहि विद्यालयहरूले विद्यार्थीहरूको सक्रिय सहभागितामा शाकाहारी भोजन पनि आयोजना गरेका छन्।

वसन्त ऋतुको सुरुवात

सरस्वती पूजासँगै वसन्त ऋतुको प्रारम्भ हुने मान्यता पनि छ। हिउँदको चिसो क्रमशः हट्दै कोइलीको कुहु कुहु र न्यानोपनाको राजा वसन्तको आगमन स्वागत गरिन्छ। यस दिनलाई नेपाली समाजमा प्राकृतिक र सांस्कृतिक परिवर्तनको संकेतको रूपमा पनि लिइन्छ।

मन्दिर र पूजास्थल

काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका स्थानमा सरस्वती मन्दिरहरूमा विशेष पूजा–अर्चना र मेलाहरू आयोजना गरिन्छ। नीलबाराही, स्वयम्भू, लेले लगायतका मन्दिरमा विद्यार्थी र साधकहरूको जमघट देख्न सकिन्छ। पशुपतिनाथ मन्दिरमा रहेको सरस्वतीको मूर्ति, जसलाई बुद्धमार्गीहरूले मञ्जुश्रीको रूपमा पनि पूज्छन्, आज विशेष आराधनाको केन्द्र हो।

सिर्जनाकार र विद्या प्रेमीहरूको दिन

सरस्वती पूजाको दिनलाई नेपाली समाजमा कला सिर्जनाकारहरूको दिन पनि मानिन्छ। कलम, मसी, कागज, पुस्तक लगायतका औजारको पूजा गरी सिर्जनशीलता र ज्ञानको सम्मान गरिन्छ। लेखक, गायक, कलाकार, मिस्त्री, मूर्तिकार जस्ता सिर्जकहरूले आफ्नो सिर्जनालाई मूल्य र सम्मान प्राप्त होस् भन्ने आशा राखेर आज पूजा गर्छन्।

सरस्वती पूजाले नेपाली समाजमा विद्या र संस्कृति प्रति सम्मानको भावना जागृत गराएको छ। चाहे धर्म, विश्वास वा पेशा जे भए पनि विद्यासँगको सम्बन्ध र ज्ञानको महत्वलाई यो पर्वले सधैं स्मरण गराउँछ।

सम्बन्धित खबर