तेहरान | अमेरिका र इजरायलसँग बढ्दो सैन्य तनावका बीच इरानले खाडी क्षेत्रका विभिन्न स्थानमा मिसाइल तथा ड्रोन आक्रमणलाई तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी तथा इजरायली आक्रमणपछि प्रतिकारस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा सहयोगी देशहरूलाई लक्षित गरी आक्रमण गरिरहेको बताइएको छ।
यस घटनाक्रमका कारण मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती थप बढेको छ। खाडी क्षेत्रको महत्वपूर्ण जलमार्ग हर्मुज जलडमरू आसपास पनि तनाव बढ्दै गएको छ, जसले अन्तर्राष्ट्रिय तेल ढुवानी र ऊर्जा बजारमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
युद्धका कारण विभिन्न स्थानमा मानवीय क्षति पनि बढ्दै गएको बताइएको छ। केही क्षेत्रमा भएका आक्रमणमा धेरै मानिस मारिएको र घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
विश्लेषकहरूका अनुसार अमेरिका–इजरायल र इरानबीचको बढ्दो द्वन्द्वले खाडी क्षेत्र मात्र नभई विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय सुरक्षामा समेत गम्भीर प्रभाव पार्न सक्ने सम्भावना देखिएको छ।
संयुक्त अरब इमिरेट्सका तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी
इरानले संयुक्त अरब इमिरेट्स (युएई) का दुबईस्थित जबेल अली, अबुधाबीको खलिफा र फुजैराह बन्दरगाह आसपासका क्षेत्र खाली गर्न चेतावनी दिएको छ। अमेरिका–इसराइलसँगको युद्ध तेस्रो सातामा पुग्न लाग्दा इरानले पहिलो पटक छिमेकी देशका गैर-अमेरिकी सम्पत्तिलाई पनि निशाना बनाउन सक्ने संकेत दिएको हो।
तेहरानले युएईका बन्दरगाह र डक प्रयोग गरेर अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ। चेतावनीपछि ती बन्दरगाहमा प्रत्यक्ष आक्रमणको पुष्टि नभए पनि इरानी ड्रोनका भग्नावशेष खस्दा फुजैराहको तेल पूर्वाधारमा आगलागी भएको खबर आएको छ।





