काठमाडौँ, चैत्र १ | प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत फाल्गुण २१ मा सम्पन्न आमनिर्वाचनबाट १२५ प्रत्यक्ष सिट सहित पहिलो राष्ट्रिय दल हुन सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । मतगणनाको अन्तिम परिणाम आइसकेसँगै रास्वपाले समानुपातिकतर्फबाट थप ५७ सिट पाउने निश्चित भैसकेकोले उक्त समानुपातिक सिटका लागि उमेद्वारहरुको अन्तिम नामावली निर्वाचन आयोगलाई पेश गर्नुपर्ने हुन्छ ।
अस्वस्थताका कारण केहिदिन यता सक्रिय नदेखिएका सभापति रवी लामिछाने भर्चुअल रुपमा बैठकमा सहभागी हुने रास्वपाले जनाएको छ । बैठक भर्चुअल हुने जानकारी पाएपछि पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेका केही नेताहरू फर्किएका छन्।हाल स्वास्थ्य लाभ गरिरहेका सभापति रवि लामिछानेसँग डिपी अर्याल र डा. स्वर्णिम वाग्ले रहेका छन्। पार्टी कार्यालयमा भने शिशिर खनाल, मनिष झा, सोविता गौतम, हरि ढकाल र गणेश कार्की लगायतका नेताहरू उपस्थित छन्।
प्रवक्ता मनिष झाले समानुपातिक प्रणालीबाट सांसद बन्नेहरूको नामावली आजै निर्वाचन आयोगमा बुझाइने जानकारी दिए। समानुपातिक सांसदलाई प्रमाणपत्र वितरणसहित निर्वाचनका बाँकी प्रक्रिया पूरा भएपछि नयाँ सरकार गठन हुने र त्यसका लागि करिब १० दिन लाग्न सक्ने प्रवक्ता झाले बताएका छन्।





