मङ्लबार, भदौ २८, २०८३
Breaking News

सुर्खेतकी इनिशाको हत्या प्रकरण : अनुसन्धान जारी, देशभर न्यायको माग

समाचार कक्ष सोमवार, फाल्गुन ३०, २०८२

सुर्खेत, चैत्र २। इनिशा विश्वकर्मा हत्या प्रकरणबारे अनुसन्धान जारी रहँदा देशका विभिन्न स्थानमा न्यायको माग तीव्र बन्दै गएको छ। सुर्खेत जिल्लाको वीरेन्द्रनगरकी किशोरी इनिशा विश्वकर्मा मृत अवस्थामा फेला परेपछि घटनाले व्यापक चर्चा पाएको हो।

प्रहरीका अनुसार ट्युसन पढ्न घरबाट निस्किएकी उनी केही समयपछि स्थानीय सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय बासिन्दा, दलित अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले दोषीलाई कडा कारबाही गर्न माग गर्दै देशका विभिन्न शहरहरुमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिन सरकारसँग आग्रह गरेका छन्।

यस्तै, मानवअधिकारकर्मीहरूले पनि घटनाले समाजमा महिला तथा दलित समुदायमाथि हुने हिंसाको गम्भीरता पुनः उजागर गरेको भन्दै प्रभावकारी कानुनी कारबाही आवश्यक रहेको बताएका छन्।

प्रहरीले भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको र सत्य तथ्य बाहिर ल्याउन सबै पक्षबाट प्रमाण सङ्कलन भइरहेको जनाएको छ।

सम्बन्धित खबर