मङ्लबार, भदौ २८, २०८३
Breaking News

प्रधानमन्त्रीका रूपमा आज बालेन्द्र शाहको सपथ

समाचार कक्ष शुक्रबार, चैत्र ११, २०८२

काठमाडौं, चैत १३ | राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित भई संसदमा पुगेका बालेन्द्र शाह आजै नेपालका प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको सपथ लिँदै छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट उनलाई सपथ गराइने कार्यक्रम तय भएको छ।

सरकारी स्रोतका अनुसार, मध्यान्न १२:३४ को समयतालिका निर्धारण गरिएको समारोहमा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका शीर्ष नेताहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रमलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने आवश्यक तयारी पूरा भइसकेको जनाइएको छ।

बालेन्द्र शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएपछि राष्ट्रिय राजनीतिमा उदाएका हुन्। इन्जिनियर तथा र्‍यापरको पृष्ठभूमिबाट आएका उनले आफ्नो कार्यकालमा अवैध संरचनाविरुद्ध अभियान, शहरी व्यवस्थापन सुधार तथा पारदर्शितामा जोड दिएका थिए।

उनको प्रधानमन्त्री पदमा नियुक्तिले परम्परागत राजनीतिक शक्तिभन्दा बाहिरको नेतृत्व संघीय सरकारमा पुग्ने नयाँ उदाहरण प्रस्तुत गरेको विश्लेषण गरिएको छ। विशेषगरी युवापुस्तामाझ उनको उदयलाई परिवर्तनको संकेतका रूपमा हेरिएको छ।

यद्यपि, संघीय शासन सञ्चालनको अनुभवको कमी, दलगत समन्वयको चुनौती तथा दीर्घकालीन नीति कार्यान्वयनका जटिलताहरू उनको अगाडि प्रमुख चुनौतीका रूपमा रहने विश्लेषकहरूको भनाइ छ।

आज हुने सपथसँगै बालेन्द्र शाहले देशको कार्यकारी नेतृत्व सम्हाल्नेछन्। उनको नेतृत्वले अपेक्षित सुधार र परिवर्तन कत्तिको ल्याउन सक्छ भन्ने विषयमा आम नागरिकको चासो केन्द्रित रहेको छ।

सम्बन्धित खबर