काठमाडौ, बैशाख ९ | केन्द्रीय सत्ता राजनीतिमा यतिबेला एउटा यस्तो दृश्य मञ्चन भइरहेको छ, जहाँ ‘सुशासन’ को चर्को नारा लगाउने सारथि नै चक्रव्यूहमा फसेका छन्। यो कथा कुनै चलचित्रको पटकथाभन्दा कम छैन—एकातर्फ गृहमन्त्री सुधन गुरुङ भ्रष्टाचार र बेथिति अन्त्य गर्ने हुङ्कार गर्दैछन्, अर्कोतर्फ उनकै हस्ताक्षर र लगानी ती पात्रहरूसँग जोडिएको छ, जो राज्यको अनुसन्धानको घेरामा छन्।
त्यो गोप्य साझेदारीको खुलासा
विवादको केन्द्रमा छ— स्टार माइक्रो इन्स्योरेन्स। जब कम्पनी रजिस्ट्रारको कार्यालयका पुराना धुलाम्मे ढड्डा र डिजिटल अभिलेखहरू केलाइयो, तब एउटा अचम्मको तथ्य बाहिर आयो। कम्पनीको संस्थापक सेयरधनीको सूचीमा ४९औँ नम्बरमा ‘सुधन गुरुङ’ को नाम स्पष्ट देखियो। यो त्यही कम्पनी हो, जसलाई लाइसेन्स दिलाउन ‘बिचौलिया’ को छवि बनाएका दीपक भट्टले शक्तिकेन्द्रमा ठुलो दौडधुप गरेका थिए।
दृश्य यस्तो बन्यो: एकातिर गृहमन्त्रीका रूपमा सुधन गुरुङले दीपक भट्ट र सुलभ अग्रवाल जस्ता व्यवसायीहरूलाई ‘सम्पत्ति शुद्धीकरण’ र ‘राजस्व छली’ को मुद्दामा समातेर छानबिन अघि बढाउन प्रहरीलाई निर्देशन दिइरहेका थिए, तर भित्रभित्रै उनीहरू नै गुरुङका व्यावसायिक साझेदार निस्किए।
लुकाइएको सम्पत्ति र नैतिक प्रश्न
गृहमन्त्रीले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा ‘स्टार माइक्रो इन्स्योरेन्स’ को नाम कतै उल्लेख थिएन। जब यो कुरा सञ्चारमाध्यममा विस्फोट भयो, तब उनीमाथि नैतिक संकटको बादल मडारिन थाल्यो। आफ्नै लगानी आज गृहमन्त्रिका लागि ‘अग्निपरीक्षा’ बनेको छ। नागरिकको प्रश्न छ— “के आफ्नै मन्त्रालयले हतकडी लगाउन खोजेका मान्छेको कम्पनीमा मन्त्रीको लगानी हुनु सामान्य संयोग मात्र हो?”
शक्ति र लगानीको मिलनबिन्दु
दीपक भट्ट, जसलाई नेपाली राजनीतिमा ‘शक्तिको दलाल’ का रूपमा चिनिन्छ, र सुलभ अग्रवाल, जो यसअघि पनि थर्मल गन प्रकरणमा विवादित बनेका थिए—यी दुई पात्रसँग गृहमन्त्रीको नाम जोडिनुले सरकारको छविमा नै दाग लाग्न सक्ने आंकलन गर्न त पाइयो । के गृहमन्त्रीले यस्तो ‘मर्यादाहीन सम्बन्ध’ गाँसेका छन् जहाँ राजनीति र व्यापारको सीमारेखा मेटिएको छ ?
अन्तहीन दबाब र बचाउको प्रयत्न
सामाजिक सञ्जाल मार्फत आएका स्पष्टीकरणको हरफहरुले गृहमन्त्री गुरुङ दबाबमा छन् भन्ने शंकाको सुविधा पाइन्छ। हिजोसम्म नैतिकताको पाठ पढाउने गुरुङ आज आफैँ रक्षात्मक मुद्रामा देखिएका छन्। उनले “मलाई थाहा थिएन” वा “मैले नियमसंगत लगानी गरेको हुँ” भनेर पन्छिन खोजे पनि, आफ्नै मातहतको सिआइबीले अनुसन्धान गरिरहेका व्यक्तिहरूसँगको उठबसले उनको सुशासनको दाबीलाई गिज्याइरहेको भान हुन्छ ।
सडकदेखि सामाजिक सञ्जालसम्म एउटै प्रश्न उठेको छ— के सुधन गुरुङले नैतिकताको आधारमा कुर्सी त्याग्छन् या सत्ताले यो विवादलाई ओत दिएर सामसुम पारिदिन्छ ?





