मङ्लबार, भदौ २८, २०८३
Breaking News

ट्रम्पको चीन भ्रमणको तयारी तीव्र :व्यापार, इरान युद्ध र ताइवान मुद्दा वार्ताको केन्द्रमा

समाचार कक्ष मङ्लबार, बैशाख २७, २०८३

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमणको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। चीन सरकारले मे १३ देखि १५ सम्म ट्रम्पले बेइजिङ भ्रमण गर्ने औपचारिक पुष्टि गरिसकेको छ। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग उच्चस्तरीय वार्ता हुने बताइएको छ।

यस भ्रमणलाई पछिल्लो दशकयताकै सबैभन्दा महत्वपूर्ण अमेरिका–चीन कूटनीतिक भेटका रूपमा हेरिएको छ। विशेषगरी व्यापार युद्ध, ताइवानको सुरक्षा, कृत्रिम बुद्धिमत्ता, दुर्लभ खनिज आपूर्ति तथा इरान युद्धजस्ता संवेदनशील विषय वार्ताको केन्द्रमा रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भ्रमणअघि दुवै देशबीच कूटनीतिक तथा आर्थिक संवाद तीव्र बनाइएको छ। पेरिसमा अमेरिकी र चिनियाँ अधिकारीहरूबीच व्यापार वार्ता सम्पन्न भएको छ, जसले ट्रम्प–शी भेटका लागि वातावरण तयार गरेको बताइएको छ।

यसैबीच, ट्रम्पसँग अमेरिकी व्यापारिक क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि चीन जाने तयारीमा रहेका छन्। एलन मस्क,टिम कुक लगायतका उद्योगीहरू भ्रमण टोलीमा सहभागी हुन सक्ने समाचार सार्वजनिक भएका छन्। चीनसँग विमान, कृषि तथा ऊर्जा क्षेत्रमा ठूला व्यापारिक सम्झौता हुन सक्ने अनुमान गरिएको छ।

विश्लेषकहरूका अनुसार, भ्रमणको मुख्य उद्देश्य अमेरिका–चीन सम्बन्धलाई पूर्ण टकरावबाट जोगाउँदै “व्यवस्थित प्रतिस्पर्धा” तर्फ लैजानु हो। यद्यपि ताइवान र इरानजस्ता मुद्दामा दुवै पक्षबीच गहिरो मतभेद कायम रहेको देखिन्छ। चीनले अमेरिकालाई ताइवानबारे “सही निर्णय” लिन चेतावनी दिइसकेको छ।

अर्कोतर्फ, इरान युद्धले भ्रमणको प्राथमिकता नै परिवर्तन गरेको अन्तर्राष्ट्रिय विश्लेषणहरूमा उल्लेख गरिएको छ। अमेरिकाले चीनलाई इरानमाथि प्रभाव प्रयोग गर्न दबाब दिन सक्ने सम्भावना रहेको छ भने चीनले त्यसको बदलामा व्यापार तथा ताइवान नीतिमा सहुलियत खोज्न सक्ने आकलन गरिएको छ।

चीनले भ्रमणलाई अत्यन्त महत्व दिएको संकेतस्वरूप बेइजिङमा सुरक्षा तथा प्रोटोकल तयारी तीव्र पारिएको छ। अमेरिकी राष्ट्रपति प्रयोग गर्ने विशेष सुरक्षा गाडी “द बिस्ट” सम्बन्धी उपकरण बोकेका अमेरिकी विमानहरू बेइजिङ पुगेको समाचार पनि सार्वजनिक भएको छ।

विशेषज्ञहरूका अनुसार, यो भ्रमणले तत्काल ठूलो सम्झौता गराउने सम्भावना कम भए पनि अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने संकेत भने अवश्य गर्न सक्छ। विश्व अर्थतन्त्र, एशियाली सुरक्षा तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका लागि यो भेटलाई चासोपूर्वक हेरिएको छ।

सम्बन्धित खबर