मङ्लबार, भदौ २८, २०८३
Breaking News

जम्मुकश्मिरमा आतंककारी हमला, नेपाली नागरिक सहित २६ को मृत्यु

समाचार कक्ष बुधबार, बैशाख ९, २०८२

हमलामा मारिएकाहरुको विवरण, श्रोत: आजतक

काठमाडौ | मंगलबार भारतको जम्मु कश्मिर स्थित पहलगामको बैसारन उपत्यकामा आतंककारीहरूले पर्यटकहरूको बाटो छेकी गोली हानी हत्या गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् | उक्त आतंककारी हमलामा २६ जनाको मृत्यु भएको बताइएको छ । मृतकहरूमध्ये एक जना नेपाली सहित संयुक्त अरब एमिरेट्स (यूएई) का पर्यटक र दुई जना स्थानीय बासिन्दा छन्। अन्य मृतकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र उडिशाका हुन्।

घटनामा मारिएका नेपालीको नाम बुटवल-रुपन्देहीका सुदीप न्यौपाने रहेको उल्लेख छ , नेपाल सरकारको तर्फबाट मृतक नेपालीको यथार्थ विवरण पुष्टि गर्ने प्रयास जारी रहेको बताइएको छ | यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् आतंकवादी आक्रमणको निन्दा गरेका छन्।

घटना मंगलवार दिउँसो करिब २:४५ बजे भएको बताइएको छ । भारतीय मिडिया रिपोर्टहरू अनुसार, आतंककारीहरूले सुरुमा एक जना पर्यटकलाई नियन्त्रणमा लिई नाम सोध्दै गोलि हानेको र पछी अन्धाधुन्ध गोली चलाउँदै भागेको उल्लेख गरेका छन् । यस हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक आतंककारी संगठनले लिएको छ। यो हमला अहिले सम्मकै डरलाग्दो मानिएको छ। घटनामा २० भन्दा बढी मानिसहरू घाइते भएका छन्। आतंककारीहरुले गैर मुस्लिमहरुलाई लक्षित गरी आक्रमण गरेको घटनाका प्रत्यक्षदर्शीहरुको भनाइलाई उल्लेख गर्दै सन्चारमाध्यमहरुले जनाएका छन् ।

हाल भारतीय सुरक्षाबलले घटनास्थललाई घेराबन्दी गरेका छन् र हेलिकप्टरको माध्यमबाट निगरानी जारी राखिएको छ।

सन् २०१९ को फेब्रुअरीमा जम्मुकश्मिरकै पुलवामा भएको आतकंकारी आक्रमणमा ४० भारतीय सैनिक मारिएका थिए । पुलवामा हमलापछिको यो सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

अपडेट

हमलामा मारिएका भनिएको नेपाली नागरिक बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि भएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । मृतक न्यौपाने आफ्नी आमासँग बिदामा घुम्नका लागि त्यहाँ पुगेका बेला हमलामा परेका थिए ।

सम्बन्धित खबर