काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज ७०औँ वार्षिकोत्सव विशेष कार्यक्रम सहित मनाउँदैछ। २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरी ७० वर्षमा प्रवेश गरेको हो । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि अहिले बैंक नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको हो।
राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । पहिलोपटक २०३० सालमा गभर्नर यादव पन्तको कार्यकालपछि बैंक ११ दिन नेतृत्वविहीन रहँदा यस्तो अवस्था आएको थियो।
अहिलेसम्म राष्ट्र बैंकमा १७ जना गभर्नर भइसकेका छन् भने १८औँ गभर्नरको छनोट प्रक्रिया अवरुद्ध भएको छ। विगतमा पनि भेषबहादुर थापा, कुलशेखर शर्मा, कल्याणविक्रम अधिकारी र गणेशबहादुर थापाका कार्यकालपछि राष्ट्र बैंक लामो समय नेतृत्वविहीन भएको थियो।
राष्ट्र बैंक ऐनले नेतृत्व रिक्त हुन नहुने व्यवस्था गरे पनि समयमै नयाँ गभर्नर नियुक्ति नहुँदा पटकपटक बैंक नेतृत्वविहीन भएको देखिन्छ। अहिले पनि नयाँ गभर्नर सिफारिस समिति गठन भए तापनि प्रक्रिया अघि बढ्न सकेको छैन, जसले राष्ट्र बैंकको नेतृत्व अन्योलमा पारेको छ।





