मङ्लबार, भदौ २८, २०८३
समाचार

सगरमाथामा अवैध इन्टरनेट सेवा: स्टारलिङ्कको अनधिकृत सञ्चालनप्रति नियामकको चेतावनी

समाचार कक्ष मङ्लबार, बैशाख २२, २०८२

स्टारलिंक स्याटेलाइट सिग्नल

काठमाडौं |अमेरिकी उद्यमी एलन मस्कको स्वामित्वमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल सरकारबाट अनुमति नलिई सगरमाथा लगायतका उच्च हिमाली क्षेत्रहरूमा अवैध रूपमा इन्टरनेट सेवा सञ्चालन गरिरहेको खुलासा भएको छ। यसले नेपालको दूरसञ्चार ऐन, २०५३ को दफा २१ को उल्लंघन गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले चेतावनी जारी गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनामा हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरूले विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा अनधिकृत रूपमा प्रयोग गरिरहेको उल्लेख गरिएको छ। यसले नेपालको कानुनी प्रावधानको उल्लंघन मात्र होइन, भूराजनीतिक संवेदनशीलतालाई समेत असर पुर्‍याउने खतरा रहेको प्राधिकरणको भनाइ छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एलन मस्कलाई नेपाल भ्रमणको निम्तो दिएका थिए, र मस्कका प्रतिनिधिहरूले स्टारलिङ्क इन्टरनेटलाई नेपालमा सञ्चालन अनुमति दिन आग्रह गरेका थिए। तर, अनुमति प्राप्त नगरी सेवा सञ्चालन गरिएको पाइएको छ।

प्राधिकरणले सम्बन्धित सबैलाई अनधिकृत रूपमा इन्टरनेट सेवा प्रयोग नगर्न/नगराउन अनुरोध गर्दै, कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

सम्बन्धित खबर