मङ्लबार, भदौ २८, २०८३
विश्व

भारतद्वारा पाकिस्तानमा आतंकवादी संरचनामाथि लक्षित सैन्य कारवाही

समाचार कक्ष बुधबार, बैशाख २३, २०८२

सांकेतिक तस्विर

काठमाडौं | भारतले २०८२ वैशाख २४ गते ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा रहेका आतंकवादी संरचनामाथि लक्षित सैन्य कारवाही गरेको छ। यो कारवाही अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २८ जना पर्यटकको ज्यान गएपछि गरिएको हो।

भारतीय सेनाले नौवटा स्थानमा मिसाइल आक्रमण गरी जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबा जस्ता आतंकवादी समूहका संरचनाहरू ध्वस्त पारेको दाबी गरेको छ। पाकिस्तानी सन्चारमाध्यमहरुले ८ जना नागरिकको मृत्यु र ३५ जना घाइते भएको बताएका छन्। पाकिस्तानले भारतको कारवाहीलाई ‘युद्ध कार्य’ भन्दै निन्दा गरेको छ।

यसैबीच पाकिस्तानी सेनाले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ, हाल सम्म भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। दुवै देशबीच नियन्त्रण रेखामा हतियार केन्द्र लक्षित आक्रमण जारी रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ, अमेरिका, र बेलायतले दुबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन्। भारतले आफ्नो कारवाहीलाई आतंकवादी शिविरहरू विरुद्ध लक्षित कारवाही भएको बताएको छ, जबकि पाकिस्तानले यसलाई नागरिक क्षेत्रमाथिको आक्रमण भन्दै विरोध जनाएको छ।

‘अपरेशन सिन्दूर’ भारतको पछिल्लो वर्षहरूमा पाकिस्तान विरुद्धको सबैभन्दा ठूलो सैन्य कारवाही मानिएको छ। यसले क्षेत्रीय तनावलाई थप चर्काएको छ र अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ।

सम्बन्धित खबर