मङ्लबार, भदौ २८, २०८३
धर्म/संस्कृति

आज २५६९औं बुद्ध जयन्ती, देशभर विविध कार्यक्रमहरू आयोजना

समाचार कक्ष सोमवार, बैशाख २८, २०८२

काठमाडौँ | आज वैशाख शुक्ल पूर्णिमाको दिन, २५६९ औं बुद्ध जयन्ती देशभर विविध धार्मिक र सांस्कृतिक कार्यक्रमहरूका साथ श्रद्धापूर्वक मनाइँदैछ। यस दिनलाई बौद्ध धर्मावलम्बीहरूले त्रिसंयोग दिवसका रूपमा लिन्छन्, किनकि गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति, र महापरिनिर्वाण तीनै घटना यही दिनमा भएको विश्वास गरिन्छ।

सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ मा लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा भएको थियो। २९ वर्षको उमेरमा उनले घरबार त्यागी ज्ञानको खोजीमा लागे, र ६ वर्षको तपस्यापछि इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्त गरे। त्यसपछि उनले सारनाथमा पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन दिएका थिए।

बुद्धले चार आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको उपदेश दिए, जसमा सम्यक् दृष्टि, सङ्कल्प, वचन, कर्म, जीविका, व्यायाम, स्मृति, र समाधि समावेश छन्। यी शिक्षाहरूले आज पनि विश्वभरका मानिसहरूलाई मार्गदर्शन गरिरहेका छन्।

यसै दिन किराँत समुदायले उभौली पर्व मनाउँछन्, जसमा अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, र पृथ्वीमा खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ। चण्डी नाच गरिने भएकाले आजलाई चण्डी पूर्णिमा पनि भनिन्छ, जसले सुम्निमा अर्थात् पार्वतीको सृष्टिको दिनलाई जनाउँछ।

त्यस्तै, बनेपा र आसपासका क्षेत्रमा चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ। यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर फर्काउने परम्परा छ। वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि यो जात्रा भव्य रूपमा मनाइन्छ।

बुद्ध जयन्तिको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, र अन्य उच्च पदस्थ व्यक्तिहरूले शुभकामना सन्देश दिँदै बुद्धका शिक्षाहरू—अहिंसा, करुणा, सहिष्णुता, र शान्ति—आजको विश्वका लागि झनै सान्दर्भिक रहेको उल्लेख गरेका छन्। विभिन्न संघ-संस्थाहरूले निःशुल्क खानेपानी, रक्तदान, पुस्तक प्रदर्शनीजस्ता सेवामूलक कार्यक्रमहरू पनि आयोजना गरिरहेका छन्।

बुद्ध जयन्तिको दिन सार्वजनिक बिदा दिइएको छ, र देशभरका बौद्ध धर्मस्थलहरूमा विशेष पूजा, प्रार्थना, दीप प्रज्वलन, र धम्म प्रवचनहरू गरिँदैछन्। लुम्बिनी, स्वयम्भू, बौद्धनाथ, नमोबुद्ध, रामग्रामलगायतका स्थलहरूमा श्रद्धालुहरूको भीड देखिएको छ।

बुद्ध जयन्तिको शुभकामना! शान्ति, करुणा, र मानवता बढोस्।

सम्बन्धित खबर