काठमाडौँ | नेपाली चलचित्र ‘ऊनको स्विटर’ले प्रदर्शनको दुई दिनमा दर्शकहरुको राम्रो माया पाएको छ।
‘ऊनको स्विटर’ एक प्रेम र मानवीय सम्बन्धको कथा हो, जसले पूर्वी नेपालको पाँचथर जिल्लाको बहुसांस्कृतिक परिवेशमा आधारित छ। फिल्ममा धरणीधर (बिपिन कार्की) र फूल (मिरुना मगर) ले मुख्य भूमिकामा रही प्रेम, विछोड र आशाको भावनात्मक यात्रा प्रस्तुत गर्छन्। फिल्मको कथा एक साधारण स्विटरको माध्यमबाट गहिरो प्रेम र सम्बन्धको प्रतीक बनाइएको छ।
चलचित्रको प्रिमियरमा विभिन्न राजनीतिक नेता र कलाकारहरूको उपस्थिति रहेको थियो। उनीहरूले दर्शकहरूलाई फिल्म हेर्न आग्रह गर्दै ‘हेर्न नछुटाउनुस्’ भन्ने सन्देश दिएका थिए।
फिल्मको निर्देशन नवीन चौहानले गरेका छन् भने निर्माण ‘आर्टमण्डु’ प्रोडक्सन हाउसले गरेको हो। चलचित्रमा समावेश गरिएको “काफ्ले” शीर्षकको गीतले उत्कृष्ट चर्चा कमाईरहेको छ ।
‘ऊनको स्विटर’ नेपाली फिल्म उद्योगमा एक सफल कदमको रूपमा देखिएको छ। २ घण्टा २६ मिनेट समयवधी रहेको यस चलचित्रले दर्शकहरूलाई भावनात्मक रूपमा छुने प्रयास गरेको छ।





