काठमाडौं | काठमाडौं महानगरपालिकाको वडा नं. २४ स्थित मखन टोलमा बुधबार बिहान लागेको आगो दमकल, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ। आगलागी नियन्त्रणमा ल्याउन काठमाडौं र ललितपुरबाट ६ वटा दमकल प्रयोग गरिएको थियो।
प्रहरीका अनुसार, आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, जसको सनाखत हुन बाँकी रहेको छ।
आगो सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको चार तले घरबाट सुरु भएको थियो। माटो र काठले बनेको उक्त घरको तेस्रो तल्लामा खानपकाउने ग्यास लिक भएर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आगोले दयाराम श्रेष्ठको घरसँगै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत क्षति पुर्याएको छ।
आगलागीको कारण र क्षतिको विस्तृत विवरणका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





