हुम्ला | जेठ १ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा राति करिब १० बजे अचानक आएको बाढीले गाउँमा ठूलो क्षति पुर्याएको छ। बाढीले १५ किलोवाट क्षमताको जलविद्युत् परियोजना, चार–पाँचवटा काठेपुल, सिँचाइ कुलोहरू, दुई घरमा क्षति पुर्याएको छ भने अन्य घरहरू उच्च जोखिममा परेका छन्। बाढीका कारण ३३ जना स्थानीयलाई हिमशिखर विद्यालयमा पाल टाँगेर अस्थायी रूपमा बसोबास गराइएको छ।

फुटेको ठानिएको सम्भावित हिमतालहरू
स्थानीय वडाध्यक्ष पाल्जोर तामाङका अनुसार, बाढीको स्रोत पत्ता लगाउन दुई जना स्थानीयलाई खोलाको शिर क्षेत्रमा पठाइएको थियो। उनीहरूले करिब आठ घण्टा हिँडेर पुगेका स्थानमा दुई वटा हिमताल फुटेको देखेका छन् र केही तस्बिरहरू ल्याएका छन्। गुगल इमेजमा पनि तिलचुङ खोलाको शिर क्षेत्रमा हिमतालहरू देखिन्छन्।

हिमताल रहेको स्थान
बाढी गएको तीन दिनपछि मात्रै सुरक्षाकर्मीहरू तिलगाउँ पुगेका थिए र क्षतिको विवरण टिपोट गरेर फर्किएका छन्। स्थानीय बासिन्दाहरू अझै पनि त्रसित छन् र भविष्यमा यस्ता घटना पुनः दोहोरिन सक्ने भएकोले सरकारसँग तत्काल अध्ययन र राहतको माग गरेका छन्।






