काठमाडौँ | प्रा.डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति जुटेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपटक—वैशाख २९ र जेठ ६ गते—बालुवाटारमा भेटवार्ता गरी पौडेलको नाम प्रस्ताव गरेका थिए, जसमा प्रधानमन्त्री ओलीले सहमति जनाउनु भएको बुझिएको छ ।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री ओली, सभापति देउवा, अर्थमन्त्री विष्णु पौडेल (गभर्नर सिफारिस समितिका संयोजक) र गृहमन्त्री रमेश लेखकबीच गभर्नर नियुक्तिसम्बन्धी छलफल भएको थियो। त्यसपछि संयोजक पौडेलले सिफारिस समिति बैठक आह्वान गरेका छन्, र सम्भवत: आजै साँझ मन्त्रिपरिषद् बैठकबाट नियुक्ति प्रक्रिया टुंगो लाग्ने अनुमान गरिएको छ।
अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका प्रा.डा. विश्व पौडेल हाल काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’मा प्राध्यापन गरिरहेका छन्। उनले अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, योजना आयोगको उपाध्यक्ष र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा पनि आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेका छन्। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका पौडेल पराजित भएका थिए।
नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर सिफारिस हुनुपर्ने प्रावधान भए पनि यसपटक ढिलाइ भएको छ। गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त रहेको छ, र हाल डेपुटी गभर्नर नीलम ढुंगाना कार्यवाहक गभर्नरको जिम्मेवारीमा छन्।





