काठमाडौं | नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गतेदेखि काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अनिश्चितकालीन जनआन्दोलन सुरू गर्ने घोषणा गरेको छ। समितिको आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल लगायतका विभिन्न दल र समूहले समर्थन जनाएका छन्। यस अघि आन्दोलनका लागि निश्चित क्षेत्र छुट्याएर जिल्ला प्रशासनमा अनुमति लिने गरिएकोमा जेठ १५ गतेका लागि भने त्यस किसिमको अनुमति नमाग्ने नवराज सुवेदीले सन्चारकर्मीहरुलाई जानकारी दिएका छन् । राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको बहाली र संघीयता खारेजीको मागसहित आन्दोलनको तयारी गरिएको हो। संयोजक सुवेदीले यो जनविद्रोह भएको भन्दै प्रदर्शनका लागि प्रशासनसँग अनुमति माग्न नपर्ने बताएका छन्। उनले आन्दोलन अहिंसात्मक हुने बताउँदै प्रहरीले जहाँ रोक्यो, त्यहीँबाट अघि नबढ्ने बताएका छन्।
सरकार पक्षले पनि राजावादी समूहलाई प्रदर्शनका लागि स्थान नछुट्याउने तयारी गरिरहेको छ। सुरक्षा रणनीतिका विषयमा मंगलबार सुरक्षा समिति बैठक बसेको थियो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रदर्शनलाई ध्यानमा राख्दै वैकल्पिक उपायबारे छलफल भइरहेको जानकारी दिए।
रत्नपार्कमा राजावादी भृकुटीमण्डपमा एमाले
रत्नपार्क स्थित शान्तिबाटिकामा राजवादीहरुले आन्दोलनको तयारी गरिरहँदा अर्को तर्फ, सत्तारूढ नेकपा (एमाले) ले पनि जेठ सोहि दिन र समयमा भृकुटी मण्डपमा प्रदर्शन गर्ने तयारी गरेको छ। एमालेले भृकुटीमण्डपमा सभा गर्ने र विभिन्न निर्वाचन क्षेत्रबाट जुलुस आउने योजना बनाएको छ। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं एमालेकै नियन्त्रणमा हुनुपर्ने अभिव्यक्तिलाई लिएर आलोचना पनि भएको छ।
एमाले र राजावादी पक्ष दुवैको प्रदर्शन एकैदिन काठमाडौंमा हुने भएकाले सुरक्षा संवेदनशीलता बढेको छ। प्रशासनले आन्दोलनको सम्भावित प्रभावलाई मध्यनजर गर्दै आवश्यक तयारी गरिरहेको जनाएको छ।





