काठमाडौं | भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारी संलग्न भएको आशंका उठेपछि प्रमुख विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। हिजो मंगलबारको बैठक पनि सुरु हुनासाथ माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका सांसदहरूले विरोध जनाउँदै गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका थिए ।
सत्तारूढ दल नेपाली कांग्रेसले भने गृहमन्त्री लेखकको पक्षमा उभिँदै उनले सार्वजनिक जीवनमा कुनै आर्थिक अनियमितता नगरेको दाबी गरेको छ। गृहमन्त्री लेखकले पनि आफू दोषी प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
संसदमा जारी अवरोधका कारण अर्थमन्त्री विष्णु पौडेलले पेस गर्नुपर्ने वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदन पनि अन्योलमा परेको छ। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरे पनि विपक्षी दलहरू आफ्नो अडानमा कायम रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित पाँच जनामाथि अनुसन्धान गरिरहेको छ। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र निष्पक्ष छानबिन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।
यसैबीच, पछिल्लो घटनाक्रम बारे छलफलका लागि बसेको बिपक्षी दलहरुको बैठकले जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट नरोक्ने तर गृहमन्त्रि लेखकको राजीनामाको माग भने जारी राख्ने निर्णय गरेको छ । बिपक्षीदलहरुको बैठकमा राप्रपाको उपस्थिति भने नरहेको बताइएको छ । राजतन्त्रको पक्षमा उभिएको राप्रपा जेठ १५ गतेको घोषित आन्दोलनको तयारीमा रहेको छ ।





