मङ्लबार, भदौ २८, २०८३
Breaking News

राप्रपाको प्रदर्शन निषेधित क्षेत्रतर्फ, अध्यक्ष लिङ्देनसहित सांसद शाही पक्राउ

समाचार कक्ष आइतवार, बैशाख ६, २०८२

सांकेतिक तस्विर: सिंहदरबार

काठमाडौ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आयोजना गरेको प्रदर्शन माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ अघि बढेको छ। स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको नयाँ बानेश्वरस्थित संसद भवन आसपासका मुख्य सडकहरूमा नै प्रदर्शन गर्ने राप्रपाले यसअघि नै घोषणा गरेको थियो।

निषेधित क्षेत्र तोड्ने राप्रपाको अडान सार्वजनिक भएपछि गृह मन्त्रालयले सूचना जारी गरी निषेधित क्षेत्रमा प्रवेश गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको थियो।

यसैबीच, राप्रपाका अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबार परिसरबाटै पक्राउ गरेको छ। अध्यक्ष लिङ्देनले आजको प्रदर्शन सांकेतिक मात्रै हुने र ठूलो संख्यामा कार्यकर्ता नउतारिने बताएका थिए। सिंहदरबारभित्र पसेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतले संसदीय कार्यालयबाट निस्केर प्रदर्शन गरेका थिए । संसदीय दलको कार्यालय सिंहदरबार पुगेर बाहिरिने क्रममा लिङ्देन र शाहीले गत चैत्र १५ गतेको घटनाको छानबिन र पक्राउ परेका आफ्ना पार्टी सदस्यहरूको रिहाइको माग गर्दै पम्प्लेटसहित अभिव्यक्ति दिन थालेपछि प्रहरीले तत्कालै नियन्त्रणमा लिएको हो। आफु पक्राउ पर्नु अघि सन्चारकर्मीहरू माझ प्रतिक्रिया दिदै सरकारले सुनोस् भनेर सिंहदरबारबाट प्रदर्शन गरिएको लिङ्देनले बताएका थिए। पक्राउ परेका नेताहरुलाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको जानकारी प्राप्त भएको छ। सिंहदरबार परिसर आफैमा अति संबेदनशिल र निषेधित क्षेत्र घोषणाको गरिएको स्थल हो ।

आफ्ना नेताहरू पक्राउ परेको खबर सार्वजनिक हुनेबित्तिकै सडकमा उपस्थित राप्रपाका प्रदर्शनकारी नेता तथा कार्यकर्ताहरू निषेधित क्षेत्रको अवरोध तोड्ने प्रयासमा छन्। यसक्रममा प्रहरीसँग धकेलाधकेलको स्थिति सिर्जना भएको छ। राप्रपाको प्रदर्शनको कारण आज दिन भर ट्राफिक व्यवस्थापन असहज बनेको छ ।

पछिल्लो जानकारी अनुसार सिंहदरबारको चारै तर्फका सडकहरुमा सुरक्षाकर्मिको बाक्लो उपस्थिति देखिएको छ । ति सबै सडकहरुलाई अर्को सूचना जारी नहुँदा सम्मका लागि सवारीसाधन निषेधित क्षेत्र तोकिएको छ ।

सम्बन्धित खबर