मङ्लबार, भदौ २८, २०८३
Breaking News

ट्रम्प प्रशासनद्वारा मिलेनियम च्यालेन्ज कर्पोरेसन बन्द गर्ने निर्णय

समाचार कक्ष बिहिबार, बैशाख १०, २०८२

सांकेतिक तस्विर

वाशिंगटन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) लाई बन्द गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै अफ्रिका र अन्य विकासोन्मुख राष्ट्रहरूमा पूर्वाधार विकासका लागि लगानी गर्दै आएको यो एजेन्सीको काम तत्काल प्रभावबाट रोकिएको छ।

२००४ मा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू. बुशको पालामा स्थापना भएको एमसिसिले सुशासन र पारदर्शितामा आधारित विकासशील राष्ट्रहरूसँग सम्झौता गर्दै आएको थियो । यस संस्थाले हालसम्म झण्डै १७ अर्ब डलरभन्दा बढी लगानी गरेको छ।

एमसिसिका एक कर्मचारीका अनुसार बुधबार भएको कर्मचारी बैठकमा संस्थाका सबै कार्यक्रमहरू “व्यवस्थित रूपमा बन्द हुँदै छन्” भन्ने जानकारी दिइयो। साथै, एमसिसि अन्तर्गतका कार्यालयहरुमा कार्यरत बहुसंख्यक कर्मचारीहरूको जागिर गुम्ने अवस्था आएको छ।

गत अक्टोबरमा मात्र जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमा संग मिलेर एमसिसिले आधा अर्ब डलरको सम्झौता गरेको थियो जसमा सडक, सिँचाइ र विद्युत प्रणालीको सुधार समावेश थियो।

राष्ट्रपति ट्रम्पले विगतमा पनि यस्ता विकास सहायता कार्यक्रमहरूको विरोध गरेका छन्, जुन उनको अनुसार “संयुक्त राज्य अमेरिकालाई प्रत्यक्ष फाइदा पुर्‍याउँदैन”। यसअघि उनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (USAID) पनि बन्द गरिसकेका छन्।

एमसिसिका एक कर्मचारीले भने, “हामी मानवीय सहायता वा सामाजिक न्यायको काम गर्दै छैनौं। हामी निजी क्षेत्रको लगानीका लागि वातावरण बनाउने काम गर्दै थियौं।” उनले थपे, “यो अमेरिका–प्रथमको सिद्धान्तअनुसारको काम थियो, जुन चीनको प्रभावको प्रतिकार गर्न सक्ने उपाय थियो।”

नेपाल, सेनेगललगायत केही देशहरूमा अल्पकालीन विस्तार

एमसिसिले शुक्रबारसम्म सबै साझेदार देशहरूलाई ४० दिनभित्र सम्झौता अन्त्य हुने जानकारी दिनेछ। तर नेपाल, मंगोलिया, सेनेगल र आइभोरी कोस्टमा अल्पकालीन विस्तार गरिएको छ। नेपालमा सन्  २०२२ मा भएको सम्झौतापछि विरोध प्रदर्शन भए तापनि एमसिसिले ५० करोड डलरको अनुदानमार्फत सडक र भारतसँग विद्युत व्यापार सुधार गर्ने योजना अघि बढाएको थियो।

सेनेगलमा एमसिसिले ५५० मिलियन डलर लगानी गर्दै विद्युत विस्तारका लागि काम गरिरहेको थियो, जसमा ५० मिलियन डलर सेनेगल सरकारले थपेको हो।

एमसिसि र ट्रम्प प्रशासनले भने तत्काल यसबारे टिप्पणी गरेका छैनन्।

सम्बन्धित खबर