मङ्लबार, भदौ २८, २०८३
Breaking News

सहकारी ठगीमा सांसद माया राई पक्राउ , म्याद थप गरी अनुसन्धान गरिने

समाचार कक्ष आइतवार, बैशाख १३, २०८२

फाइल तस्बिर:सांसद माया राई प्रतिनिधि सभा बैठकमा सहभागी हुँदै

काठमाडौँ | स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। शनिबार राति काठमाडौंको कपनस्थित आफ्नै निवासबाट पक्राउ परेकी उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइनेछ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार अदालतबाट म्याद थप गरेपछि राईमाथि औपचारिक रूपमा अनुसन्धान हुनेछ।

यसअघि स्वर्णलक्ष्मी सहकारीको ठगी मुद्दा अदालतमा दर्ता भइसकेको भए पनि सांसद राईको नाम त्यसमा समावेश गरिएको थिएन। उनीबिनै मुद्दा दर्ता भएकाले अहिले म्याद थप गरी पुरक अभियोगमार्फत मुद्दा चलाइने तयारी गरिएको छ। राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ पुर्जीसमेत जारी भइसकेको छ।

स्वर्णलक्ष्मी सहकारीमा सहसचिवका रूपमा कार्यरत रहेकी राईमाथि ६९० जना बचतकर्ताको जम्मा एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यसअघि दुई महिना लामो अनुसन्धानपछि प्रहरी परिसर काठमाडौंले राईसहितका व्यक्तिमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।

यद्यपि, सरकारी वकिल कार्यालयले राईसहित पाँच जनालाई उन्मुक्ति दिँदै २१ पुसमा ३९ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो। पछि थप प्रमाण र अनुसन्धानबाट राईको प्रत्यक्ष संलग्नता भेटिएको भन्दै प्रहरीले पुनः कारबाही अघि बढाएको हो।

हाल राईमाथि कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान तथा पुरक अभियोग दर्ता गरी मुद्दा अगाडि बढाइने तयारी भइरहेको छ।

सम्बन्धित खबर