काठमाडौं | नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आगामी नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसद्मा प्रस्तुत गरेको छ। उक्त कार्यक्रममा दिगो आर्थिक वृद्धि, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, र सूचना प्रविधिमा आधारित सेवा विस्तार प्रमुख प्राथमिकताका रूपमा समावेश गरिएका छन्।
नीति तथा कार्यक्रममा सार्वजनिक सेवाको गुणस्तर सुधार, विद्युत् उत्पादन र निर्यात वृद्धि, सिँचाइ सुविधा विस्तार र सहकारी सुधारलाई समेत महत्व दिइएको छ। सरकारले पर्यटन, कृषि, ऊर्जा र उद्योग क्षेत्रलाई समृद्धिका आधारस्तम्भका रूपमा अघि बढाउने उल्लेख गरेको छ।
साथै, सरकारले स्वदेशी उत्पादन प्रवर्द्धन, स्वास्थ्य सेवा पहुँच सुधार र शिक्षामा डिजिटल पहुँच विस्तार गर्ने नीति लिएको छ। सामाजिक सुरक्षाभत्ता वृद्धिसहितको कार्यक्रमले जनतालाई राहत दिने विश्वास व्यक्त गरिएको छ।
नीति तथा कार्यक्रमले यथार्थपरक कार्यान्वयन भएमा देशको आर्थिक सुधार टेवा पुग्ने अपेक्षा गरिएको छ। यद्यपि पूर्ववर्ती कार्यक्रमहरूको कार्यान्वयनमा देखिएका कमजोरीहरूप्रति जनस्तरमा चिन्ता पनि बढ्दै गएको छ।





