काभ्रेपलान्चोक | काभ्रेको पनौतीमा सोमबार आएको बाढीले पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरीलाई बगाएपछि उनी बेपत्ता भएकी छन्। उनको खोजी कार्य सोमबार बेलुका स्थगित गरिएको थियो भने मंगलबार बिहानदेखि पुनः सुरु गरिएको छ।
बाढीका कारण पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्ती क्षेत्रमा क्षति पुगेको छ। माम्तीमा बीपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। अस्थायी ह्युमपाइप मार्ग पनि बाढीले बगाएको छ। अहिले सडक मर्मत कार्य भइरहेको छ भने पूर्वतर्फबाट आएका सवारीलाई खुर्कोट र नेपालथोकमा, काठमाडौंतर्फ जाने सवारीलाई भकुण्डेबेसीमा रोकिएको छ।