हुम्ला | हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा जेठ १ गते राति हिमतालबाट एकाएक आएको बाढी र पहिरोले स्थानीय बासिन्दा गम्भीर संकटमा परेका छन्। खानेपानीका संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थानीयहरू धमिलो खोलाको पानी पिउन बाध्य छन्, जसले स्वास्थ्य जोखिम बढाएको छ ।
बाढीले १८ परिवार विस्थापित भएका छन्, जसमा ३३ जना खुला चौरमा त्रिपालमुनि बस्न बाध्य छन्। घरहरू चर्किएका छन् र बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।
स्थानीय निकायले राहत सामग्री पठाउने प्रयास गरे पनि तिलगाउँ जाने बाटोको असहजताले ढुवानीमा कठिनाइ उत्पन्न गरेको छ ।
गृहमन्त्री रमेश लेखकले प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पठाउन र प्राविधिक टोलीमार्फत स्थलगत अध्ययन गर्न निर्देशन दिएका छन्। तर, अहिलेसम्म सरकारी टोली प्रभावित क्षेत्रमा पुग्न सकेको छैन
स्थानीयहरूद्वारा स्थलगत अवलोकन पश्चात हिमताल फुटेर बाढी आएको अनुमान गरिएकोमा इसिमोडले तस्विरहरुको अध्ययन गरी हिमताल फुटेको नभई भासिएको कारण जलप्रवाह अकस्मात बढेको हुनसक्ने बताएको छ । यसबीच प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
तिलगाउँका बासिन्दा तत्काल त्रिपाल, स्वच्छ पानी र खाद्यान्नको आवश्यकता रहेको बताउँछन्। स्थानीय निकाय र जनप्रतिनिधिहरू राहत पुर्याउने प्रयासमा छन्, तर कठिन भौगोलिक अवस्थाका कारण राहत ढुवानीमा समस्या आइरहेको छ।





