मङ्लबार, भदौ २८, २०८३
Breaking News

सहकारी पिडितको अर्धनग्न प्रदर्शन

समाचार कक्ष आइतवार, जेष्ठ १०, २०८२

काठमाडौं | सहकारी संस्थामा बचत गरेका रकम फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले पुनः काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। अघिल्ला दिनहरूमा महिलाहरूले अग्रपंक्तिमा उभिएर आवाज उठाउँदै आएका थिए भने आइतबारको प्रदर्शनमा पुरुषहरू अर्धनग्न रूपमा सडकमा उत्रिए।

“नाङ्गो हुनु बाध्यता हो, रहर होइन”

पीडितहरूको आरोप छ कि राज्यले बारम्बार शान्तिपूर्ण रूपमा गरिएको आन्दोलनको बेवास्ता गरेपछि उनीहरूलाई अर्धनग्नरूपमा आन्दोलन गर्न बाध्य बनाइएको हो। “नाङ्गो हुनु हाम्रो रहर होइन, बाध्यता हो,” प्रदर्शनमा सहभागी एक पीडितले भने।

उनीहरूले सहकारी संस्थाहरूले उठाएका रकमको जवाफदेही सरकारले लिनुपर्ने माग गर्दै आएका छन्। सहकारी संस्थाहरूको सम्पत्ति लिलाम गरेर भए पनि आफ्ना बचत रकम फिर्ता गराउनुपर्ने उनीहरूको जोडदार माग छ। साथै, पीडितहरूले सहकारी पीडित बचतकर्ता महासंघले अघि सारेको प्रस्ताव तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रदर्शनकारीहरूले “बिचौलिया खडा गरेर जग्गा सेटलमेन्टको नाममा १० लाखको जग्गा ४० लाखमा बेचेको नाटक बन्द गर”, “कोष खडा गर, बचत फिर्ता गर” भन्ने प्लेकार्डहरू बोकेका थिए। उनीहरूले सरकारलाई चेतावनी पनि दिएका छन्— यदि माग सुनुवाइ नभए अझ कडा र नग्नरूपको आन्दोलन गर्न बाध्य हुनेछन्।

सहकारी प्रणालीको अव्यवस्थापन र पीडितहरूको मागप्रति राज्यको उदासीनता गम्भीर प्रश्नका रूपमा उठिरहेको छ। सरकारले यसप्रति गम्भीर ध्यान नदिए जनआक्रोश अझ चर्कने संकेत देखिएको छ।

सम्बन्धित खबर