चितवन | नेपालमा घडियाल गोही संरक्षणका लागि समर्पित सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काको ६१ वर्षको उमेरमा निधन भएको छ। क्यान्सर रोगबाट पीडित खड्काले चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित घडियाल प्रजनन् केन्द्रमा लामो समय सेवा गरेका थिए।

विगत चार दशकदेखि घडियाल गोहीको संरक्षणमा सक्रिय खड्काले नारायणी, राप्ती, कालीगण्डकी लगायतका नदीहरूमा गोहीका अण्डा संकलन, हुर्काउने र पुनः नदीमा छोड्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्वमा प्रजनन् केन्द्रमा हुर्काइएका १,५२५ भन्दा बढी घडियाल गोहीहरू विभिन्न नदीहरूमा छोडिएका छन्।

वेदबहादुर खड्काले सहायक संरक्षण अधिकृत भएर आफ्नो जागिरे जीवनको झन्डै दुई दशक चितवन निकुञ्जमा बिताए । खड्का निकुञ्ज कार्यालयमाभन्दा धेरै नारायणी र राप्तीको बगरमा देखिन्थे । बगेको सफा पानीमा बस्ने घडियाल गोही विश्वको निकै दुर्लभ जीव हो । यसको रेखदेख गर्ने जिम्मेवारी खड्काको काँधमा थियो ।
घडियाल जति दुर्लभ जीव हो त्यत्ति नै यसका बारेमा जानकार व्यक्तिहरू नेपालमा निकै नै कम छन् । खड्का घडियालका हरेक पक्षमा जानकार रहँदै ती जानकारीहरूलाई फैलाउन तल्लीन रहने व्यक्ति थिए । समुदाय स्तरमा घडियालका बारेमा सचेतना फैलाउने कामदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि पुगेर खड्काले घडियाल संरक्षणमा नेपालले पाएको सफलता संसारलाई सुनाएका थिए ।

खड्का घडियाल संरक्षणमा देखिएका चुनौतीहरू—जस्तै नदी प्रदूषण, अवैध उत्खनन्, माछा मार्ने जालमा गोही फस्ने समस्या, र बासस्थानको अभाव—प्रति सधैं चिन्तित रहन्थे। उनले घडियाल गोहीको संरक्षणका लागि जनचेतना अभिवृद्धि, वैज्ञानिक अनुसन्धान, र सरकारी नीतिगत सुधारको आवश्यकता औंल्याउँदै आएका थिए।
सन् १९४० सम्म विश्वमा १० हजार जति घडियाल थिए । पाकिस्तान, भारत, नेपाल, भुटान, बंगलादेश र म्यानमारमा पाइने घडियाल सन् १९७० हृवात्तै घटेर संसारभर जम्मा दुई सयको हाराहारीमा पुगेका थिए । त्यसैले घडियाल जोगाउने अवधारणा आएको हो । २०३५ सालमा चितवनमा प्रजनन केन्द्र खुल्दा नेपालमा ५० को हाराहारीमा घडियाल थिए । घडियाल सफा पानीमा मात्रै बस्दछ । नदी र खोलानाला प्रदूषित हुँदा गोहीलाई गाह्रो भएको छ । यसको मुख्य आहारा नै माछा हो ।
घडियाल संरक्षक खड्काको निधनले नेपाली वन्यजन्तु संरक्षण क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। खड्काको योगदान सदैव स्मरणीय रहनेछ।






