काठमाडौं | यस वर्षको मनसुन प्रणाली नेपाल प्रवेश गरिसकेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बिहीबार रातिदेखि नेपालको पूर्वी भाग हुँदै प्रवेश गरी हाल कोशी प्रदेशका अधिकांश भू-भागमा फैलिसकेको छ।
महाशाखाले शुक्रबार प्रकाशित बुलेटिनमा कोशी प्रदेशका धेरैजसो मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम दरको वर्षा भइरहेको जनाएको छ। विभागका अनुसार यस वर्ष सरदरभन्दा बढी मनसुनजन्य वर्षा हुने सम्भावना रहेकाले राष्ट्रियस्तरमै पूर्वतयारीको कार्ययोजना पारित भइसकेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार २०८२ सालको मनसुनबाट करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। तीमध्ये आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला छन् भने ९ लाख ६९ हजार पुरुष प्रभावित हुने प्रक्षेपण गरिएको छ।
सबैभन्दा बढी प्रभावित हुने प्रदेश:
राष्ट्रिय कार्ययोजनाअनुसार, मनसुनजन्य विपद्बाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। त्यहाँका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या जोखिममा पर्ने प्रक्षेपण गरिएको छ।
अन्य प्रदेशहरूमा अपेक्षित प्रभाव यसप्रकार छन्:
- बागमती प्रदेश: ७४,९१४ घरधुरी — ३,२७,३७६ जनसंख्या
- गण्डकी प्रदेश: ६५,६९९ घरधुरी — २,८७,१०७ जनसंख्या
- कोशी प्रदेश: ६३,१२७ घरधुरी — २,७५,८६७ जनसंख्या
- मधेश प्रदेश: ५२,३३१ घरधुरी — २,२८,६८७ जनसंख्या
- सुदूरपश्चिम प्रदेश: ५२,११२ घरधुरी — २,२७,७३० जनसंख्या
- कर्णाली प्रदेश (सबैभन्दा कम प्रभावित): २९,१३२ घरधुरी — १,२७,३०८ जनसंख्या
यस वर्षको मनसुनले नेपालमा औसतभन्दा बढी वर्षा ल्याउने अनुमान गरिएको छ, जसले कृषि उत्पादनमा केही सकारात्मक प्रभाव पार्न सक्ने भए पनि बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपद्को जोखिम पनि उच्च बनाएको छ। विशेषगरी महिलाहरूको संख्यात्मक रूपमा बढी प्रभावित हुने पूर्वानुमानले लैंगिक दृष्टिकोणबाट पनि राहत र पुनःस्थापनाका उपायहरूमा सजगता आवश्यक देखिन्छ।





